९ जेष्ठ २०८१, बुधबार

धनुषामा दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते


दुर्घटना

धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा धनुषा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । उनका अनुसार सोही मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका–१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन् ।

सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँको न्यूरो अस्पताल सिफारिस गरिएको अवालेले जानकारी दिए । आज बिहान जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

पाँच वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

धनुषामा पाँच वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घटनाको प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

जिल्लाको सबैला नगरपालिका–९ कुसमाहामा पाँच वर्षीया बालिकाको जबर्जस्ती करणी गरी घाँटी थिचेर मारेको अवस्थामा शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिए । पाँच वर्षीया बालिका रेखा यादवलाई जबर्जस्ती करणी गरेर घाँटी थिची हत्या गरेर खाल्डोमा फालेको अवस्थामा बिहीबार राति शव फेला परेको उहाँको भनाइ थियो ।

बुधबार राति करिब ९ बजे गाउँकै कुनै छिमेकीको मटकोरमा गएकी बालिका अबेर रातिसम्म घर नफर्केपछि बालिकाका अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए । बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार राति सबैला–९ स्थित खाल्डोमा ती बालिकाको शव फेला पारेको प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिए ।

अनुसन्धानका क्रममा घटनामा संलग्न दुईजना युवकलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरूकै संलग्नतामा ती बालिकालाई बलात्कारपश्चात घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै जनाको नाम प्रहरीले गोप्य राखे पनि उनीहरू क्रमशः ३६ र २५ वर्षका स्थानीय युवक रहेको बताइएको छ ।

उनीहरूमाथि जबर्जस्ती करणी तथा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !