१० श्रावण २०८१, बिहिबार

मनाङ पुग्ने रहर, बाटोको छैन भर


मनाङ पहिरो

मनाङ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने हिमाली जिल्ला मनाङ पुग्ने कसलाई रहर हुँदैन र ? तस्बिर र भिडियोमा देखिएका मनाङमा रहेको सेता हिमशृङ्खलाको काखमा टिल्पिलाइरहेका हिमताल, यहाँका बस्ती, संस्कार, संस्कृति र फाँटभरि फापर, करु, लटरम्म गोलभेँडाझैँ फलिरहेका स्याउका दाना, अग्ला पहाडका दृश्यले लोभ्याउने गरेको छ ।

स्वर्गीय अनुभूति दिलाउने यहाँको दृश्यले कसलाई लोभ्याउँदैन र ? यिनै प्राकृतिक सुन्दर दृश्यलाई हिमालको काखमा बसेर अवलोकन गरी आफ्नै आँखामा कैद गर्ने सबैको सपना हुन्छ । देश तथा विदेशका विभिन्न भूभागबाट आउने पर्यटकलाई यही स्वर्गीय स्थान मनाङ पुग्न रहर हुन्छ । तर, यही स्वर्गीय आनन्द लिन कैयौँ कठिनाइ पार गर्नुपर्ने हुन्छ ।

यस्तै सपना बोकेर मनाङ आएका भेडेटारका सूर्य राईलाई विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुगेर एक अञ्जुली पानीले मुख धुने रहर छ । तर, बेँशीसहरबाट हिँडेपछिको सास्तीले रहर रहरमै सीमित हुने हो कि भन्ने उहाँलाई चिन्ता छ । सडकको जोखिम देखेर कतै सपनै तुहाएर फर्किनुपर्ने पो हो कि ? भन्ने उहाँमा छुट्टै डर छ ।

राईले भने, “घरपरिवार र आफन्त सबै छाडेर आफ्नो सपना साकार पार्न हिँडेको छु, बाटोको अवस्था देखेर सपना पूरा नहुँदै घर फर्किन सकिन्छ कि सकिँदैन भन्ने त्रास बढेको छ ।”

स्वर्गको अनुभूति गर्न सहज हुँदैन, तर त्रास नै त्रासको यात्रा गर्नुपर्ने रहेको उहाँले बताउनुभयो । हुन त स्वर्गको अनुभूति गर्न सहज कहाँ हुन्छ र ? मनाङ पुग्नका लागि सडक सञ्जाल पुगेको छ । तर, सहज भने छैन । घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मस्र्याङ्दी नदी । माथि उस्तै अजङ्गको चट्टानी पहरो । यो अवस्था मनाङ जाने सडकको हो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष मनाङका तत्कालीन निर्वाचित सांसद पाल्तेन गुरुङ, कमल घलेलगायत जिल्लावासी समाजसेवी, बुद्धिजीवीले मनाङलाई सडक सञ्जालसँग जोड्न आग्रह गरेका थिए । तत्कालीन मनाङका सांसद तथा पूर्वमन्त्री गुरुङका अनुसार लमजुङ सदरमुकाम बेँशीसहरदेखि मनाङको सदरमुकाम चामेसम्म सडक सञ्जालका लागि सर्भे गर्न रु १५ लाख बजेटको व्यवस्थापन भएको थियो । तत्कालीन प्रधानमन्त्री कोइरालाको पहलमा सडक डिभिजन कार्यालय दमौली, तनहुँले विसं २०५१ देखि ट्र्याक खोल्ने कामको सुरुआत भएको हो ।

‘कामका लागि खाद्यान्न’ अभियानअन्तर्गत वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सडक सञ्जाल निर्माणका लागि पाँच सय क्विन्टल चामल बेँशीसहर–चामे सडकलाई उपलब्ध गराउनुभएको पूर्वसांसद गुरुङले जानकारी दिए । उक्त परिमाणको चामलको सहयोगमा बँेशीसहर–चामे सडक खण्डको बेँशीसहर–खुदीसम्म ट्र्याक खोलिएको उनले बताए ।

जनयुद्ध र अन्य विभिन्न कारणले यस सडक निर्माणको जिम्मेवारी विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले पायो । तत्कालीन सेनाले शान्ति प्रक्रियापछि मात्रै सडक निर्माण कार्यलाई निरन्तरता दिएको थियो । राजनीतिक नेता, समाजसेवी तथा बौद्धिक व्यक्ति कपिल लामाले सडक सञ्जालको ट्र्याक खोल्नका लागि समन्वयकारी भूमिका खेलेको बताए । उनकै समन्वयमा मनाङ विकास समाज गठन गरी जिल्लामा सडक पुर्याउन रेखदेख गरिएको थियो । मनाङका समाजसेवी तथा राजनीतिक दलका नेतृत्वले सडक पुर्याउन मुख्य भूमिका खेलेका थिए ।

उतिबेला अहिले जस्तो डोजर र एस्काभेटरको माध्यमबाट सडक सञ्जाल खनिदैन थियो । साँघुरो कच्ची सडक, हरेक पटक जोखिम मोल्नुपर्ने अवस्था छ । ठाउँ–ठाउँमा खसेको पहिराका कारण थप जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ ।

अहिले वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु यात्रा गर्न बाध्य छन् । यही सडक भएर दैनिक दर्जनौँ सवारीसाधन लमजुङ–मनाङ आवतजावत गरिरहेका छन् । मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै डुम्रे–बेँशीसहर–चामे सडक हो । भिरैभिर र मस्र्याङ्दी नदी माथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा डुम्रे–बेँशीसहर–चामे सडकमा यात्रुले ज्यानको बाजी राखेर यात्रा गर्न बाध्य छन् । मनाङवासीलाई यस्तो जोखिम मोल्नुको विकल्प छैन ।

सेनाले यस जोखिमपूर्ण भीरमा ज्यानको बाजी राखेर सडक निर्माण गर्न सफल भयो । यसले सरर मोटर चढेर मनाङ आवतजावत गर्ने मनाङवासीको सपना पूरा भयो । नेपाली सेना कार्यगणले विसं २०६९ मा सडक निर्माण सम्पन्न गरेपछि सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । बेँशीसहर–चामे सडक ६५ किलोमिटर रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । यस सडक खण्डको लमजुङतर्फ ३५ किलोमिटरसम्म र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

सडक निर्माण भए पनि भौगोलिक कारणले यहाँको यात्रा हालसम्म जोखिमपूर्ण नै छ । करिब २१ वर्ष हुँदासम्म पनि यस सडकको स्तरोन्नति हुन नसक्दा यहाँका स्थानीयवासी निराश बनेका छन् । मनाङवासीसँगै, लमजुङवासी, आन्तरिक तथा बाह्य पर्यटक समेत चिन्तित छन् । यात्राका क्रममा सबैको चाहना सडक गुणस्तरीय होस् र दुर्घटना र जोखिम न्यून रहोस् भन्ने हुन्छ ।

बेँशीसहर–चामे सडक पार गर्न झन्डै छ घन्टा समय लाग्ने सवारी चालक सोम मगारातीले बताए । “ठूलाठूला चट्टान ढुङ्गाको बीचैबीच, मस्र्याङ्दी नदीको किनारबाट तीन सयदेखि एक हजार फिटभन्दा माथिमाथि हुँदै सवारीसाधन चलाउनुपर्ने हुन्छ”, उनले भने । यात्रा नसकिञ्जेलसम्म त्रासैत्रासमा यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । विभिन्न कामलगायत घरायसी सामान लिनका लागि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयवासी बताउँछन् ।

भौगोलिक संरचनाले जोखिमपूर्ण बनेको सडक वर्षायाममा बाढीले खोतलिदिने र पहिरो खस्ने भएकाले अझ जोखिम थपिने गरेको चालक मगारातीले बताए । सङ्घीयता कायम भएपछि पछिल्लो समय मनाङको मेरुदण्डको रूपमा रहेको यस सडकको स्तरोन्नतिका लागि पहल नभएको पनि होइन । यहाँको स्तरोन्नतिका निम्ति विभिन्न राजनीतिक दलका नेतृत्व तथा स्थानीय सरकारले सङ्घ, प्रदेश सरकारलाई झकझकाउने काम गरिरहेका छन् ।

जसले गर्दा यस सडकमा डुम्रे–बेँशीसहर–चामे सडक आयोजना कार्यालयमार्फत काम भइरहेको छ । भौगोलिक विकटतासँगै यहाँको प्रतिकूल मौसमका कारण कामले तीव्रता लिन नसकेको डुम्रे–बेँशीसहर–चामे सडक आयोजना कार्यालयका साइट इन्जार्च सब–इञ्जीनीयर सुमन अधिकारीले जानकारी दिए ।

उनका अनुसार विभिन्न स्थानमा ठेक्का प्रक्रियामार्फत भए पनि ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक निर्माणको कामको प्रगति देखिने अवस्थामा छैन । “सवारीसाधन आवतजावतमा सहजता कायम गर्न विभिन्न ठाउँ ठाउँमा एक्साभेटर राखी सडक निरन्तर सञ्चालन गरिरहेका छौँं, जोखिमलाई न्यूनीकरण गर्ने काम गरेका छौँ”, उनले भने । विगतमा मनाङ घुम्न वा पर्यटक आगमनका क्रममा पहिरा वा बाढीका कारण सडक अवरुद्ध भएमा घण्टौँ बाटोमा नै रोकिनुपर्ने अवस्था छैन ।

सडक आयोजना कार्यालयले पर्यटक तथा स्थानीयवासीको सहजताका लागि बढी पहिरा खस्ने स्थानमा खबर हुनासाथ ढुङ्गा, माटो हटाउने काम गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !