६ जेष्ठ २०८१, आइतबार

बाढी पीडितसँग रकम असुल्नेमाथि कारवाहीको माग


पैसा

१८ जेठ, विराटनगर । जनताको सेवा गर्छु भनेर जनताको मतवाट विजयी बनेका जनप्रतिनिधिले नै बाढी पीडितसँग रकम असुल्न थालेपछि कसको के लाग्छ र ?

मोरङ रंगेली नगरपालिका– ४ का बाढीपीडितले यस्तो गुणासो गर्नुभएको हो ।

पीडितद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सोही नगरपालिका–४ का वडाध्यक्ष गोविन्दा मण्डलले आफूहरुसंग बाढीपीडितका लागि राहतस्वरुप आएको रकम उपलब्ध गराएवापत केहि रकम मागेको गुणासो व्यक्त गरें ।

गएको वर्षमा बाढीबाट पीडित भएका परिवारलाई सरकारले प्रतिपरिवार रु २५ हजार उपलब्ध गराएकोमा पीडितबाट वडाध्यक्षले परिवार हेरी रकम असुलेको र कसैलाई भनेमा अब आउने राहत रु ५० हजार नदिने भन्दै रकम असुलेको पीडित जुलाई मण्डलले जानकारी दिनुभयो । उहाँले आफूसँग रु पाँच हजार वडाध्यक्षले लिएको पनि बताउनुभयो ।

यसैगरी, पीडित भूपेन्द्र क्रिषिदेवसँग रु ५००, सुनिता देवी क्रृषिदेवसँग रु सात हजार र पारोदेवी क्रृषिदेवसँग रु दुई हजार असुलेको सो अवसरमा बताइयो ।

जनप्रतिनिधिले जनताको पक्षबाट वकालत गर्नु पर्नेमा उल्टै भ्रष्ट आचरण देखाउने यस्ता जनप्रतिनिधिलाई सत्यतथ्य पत्ता लगाई कडा कारवाहीका लागि पहल गरिदिनहुन पीडित अवधेश मण्डलले पत्रकारसंग आग्रह गर्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !