८ जेष्ठ २०८१, मंगलबार

नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन


नारायणगढ–मुग्लिन सडक फाइल फोटो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । शनिबार राति खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार राति ११ः३० बजे गएको पहिरो पन्छाएपछि आज साँझदेखि सडक सञ्चालनमा आएको हो ।

पहिरो खसेको १९ घण्टापछि सवारी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । डिभिजन सडक कार्यालय चितवनका अनुसार एक हजार दुई सयदेखि एक हजार पाँच सय घनमिटर पहिरो खसेको पन्छाउन समय लागेको हो ।

सो स्थानमा दुई वटा लोडर र एउटा एक्साभेटरले बिहानैदेखि पहिरो पन्छाउने काम गरेका थिए । पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

सोही स्थानमा बिहिबारदेखि पटकपटक पहिरो खस्ने गरेको छ । पहिरो पन्छाएको केही बेरमा नै पुनःपहिरो खस्ने गरेको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवातजावत गर्ने गर्दछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !