२० बैशाख २०८१, बिहिबार

पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध


मर्मतपछि पनि बेनी-जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएन

म्याग्दी । म्याग्दी जिल्लाको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र पौडेलले सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा जान हिँडेका सवारीसाधनबीच बाटोमै रोकिएको बताए । उनका अनुसार बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको घुमाउने भिरमा खसेको पहिरोका कारण बेनी–दरबाङ सडक पनि अवरुद्ध बनेको छ । बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने सडक हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले निरन्तरको झरी र पहिरो नरोकिएकाले सडक खुलाउन समस्या भएको बताए । आयोजना र निर्माण कम्पनीका उपकरण परिचालन गरिए पनि निरन्तरको झरी र पहिरो खसिरहने भएकाले समस्या भएको शेरचनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !