११ आश्विन २०८०, बिहिबार

बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’


धनीराम थारू

जानकी । “हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको । उमेरले ५६ वर्ष लाग्नुभएका उनले भने, “पहिला–पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो लाग्थ्यो । तर अहिले हाम्रो पनि वन हराभरा छ । वन्यजन्तु देख्न पाइन्छ । यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन ।”

थारुको भनाइअनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो । पाँच–छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हरियाली हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ । बिहानै झिसमिसेमा उठेर वनभित्र छिरिसक्नुपर्ने उनले बताए । “एकाबिहानै उठेर वनमा छिरिसक्नुपर्छ । अलि ढिला गर्यो भने त घाँसदाउरा काट्ने र तस्करले जे पनि गर्न सक्छन्”, उनले भने, “घामपानी जे परे पनि समयमै वनभित्र छिरिसकेका हुन्छौँ हामी वन हेरालुहरू ।”

बिहान ६ बजे वन कुर्न गएका थारु खाना खान ११ बजेमात्र घर फर्कने बताउछन् । “भोकप्यास जे लागे पनि सहेरै वनलाई घाँसदाउरा चोर्न आउनेबाट जोगाउनका लागि साँझ ७ बजेसम्म बस्नैपर्छ”, उनले भने, “सिकारी पसेको सूचना पाउँदा त झनै रातिको ११–१२ बजेसम्म वनमै बस्नुपर्छ ।” वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउनकै लागि ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने उनको भनाइ छ ।

बाह्र वर्षदेखि वनको हेरचाह गर्दै आउनुभएका थारुले वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा बेला–बेला तालिममा सहभागी हुने गरेको बताए । घरबाट २० मिनेटको बाटोमा साइकल चलाएर वनको हेरचाह गरेवापत उहाँले मासिक रु १० हजार पाउछन् । उनका अनुसार महिनाभरि वनको रेखदेख गरेर पाएको रु १० हजारले घर चलाउन गाह्रो छ । “दश हजारले के नै हुन्छ र ? त्यैपनि मैले त आफ्नो जङ्गल हो भनेर काम गरिरहेको छु”, उनले भने, “पैसाभन्दा पनि जङ्गल र वन्यजन्तुले गर्दा हाम्रो चिनारी नै फरक भएको छ, म त वन हेरालु हुन पाएकामा खुसी छु ।”

धनीरामजस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत हुनुहुन्छ फटाहु थारू पनि । उनी ४० वर्षको छन् । उनले पनि आफ्नो वनमा वन्यजन्तु आएकामा निकै खुसी लागेको बताए । “वनमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि हाम्रो गाउँ र वनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ”, उनले भने, “यो कुराले हामी सबै गाउँले निकै खुसी छौँ ।”

आफ्नै वनसँग रमाउन मन लागेर अनि यहाँका पशुपक्षी र वन्यजन्तुको हेरचाह गर्न मन लागेर आफू ‘वन हेरालु’ भएको फटाहुले बताए । घरपरिवारले विदेश गएर पैसा कमाउने सल्लाह दिए पनि उनलाई भने वन हेरालु नै हुन मन परेको छ । “महिनाको जम्मा रु १० हजारले केही हुँदैन, उमेर छँदै विदेश गएर अरु साथीले झैँ टन्नै पैसा कमा भन्नुहुन्छ बाआमा । तर मलाई आफ्नै वनको सुरक्षा गर्नुछ”, उनले भने, “पैसा थोरै छ तर आफ्नो वनलाई जोगाउने काम गरेको छु । वन जोगिएसँगै वन्यजन्तु पनि जोगिएका छन् । उनीहरूको सङ्ख्यामा वृद्धि भएको छ, म यसैमा खुसी छु ।”

राप्ती पीडित तथा गुलरी सामुदायिक वनका संयोजक अजोद्धया थारूले वन संरक्षण भएदेखि उक्त सामुदायिक वनमा केही भारतबाट र केही बाँके राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आउने गरेको बताए । चार सय ९८ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनमा पाटेबाघ, चितुवा, नीलगाई, चित्तल, बँदेल, खरायो, स्याल, रतुवालगायत रहेका छन् । उनको भनाइअनुसार अहिले उक्त सामुदायिक वनको ‘वन हेरालु’का रूपमा छ जना रहेका छन् ।

विसं २०६४ देखि आफैँ पनि ‘वन हेरालु’का रूपमा काम गरेर अहिले हेरालुको संयोजक बन्नुभएका अजोद्धयाका अनुसार बाँकेको कम्दि करिडोरमा ३८ वटा सामुदायिक वन छन् भने २८ जना ‘वन हेरालु’ छन् । मासिक रु तीन हजारबाट वनको हेरचाह गर्न सुरु गर्नुभएका अजोद्धयाको मासिक तलब रु १५ हजार छ ।

वनको रेखदेख गरेवापत उनले पाउने उक्त रकम थारै भए पनि धनीराम र फटाहुलाई जस्तै वनको मायाले संयोजकको जिम्मेवारी सम्हाल्दै काम गरिरहेको उनी बताउछन् । विसं २०७०÷७१ देखि सो सामुदायिक वनमा जङ्गली जनावर देखिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !