२२ बैशाख २०८१, शनिबार

सन्दर्भ गणतन्त्र दिवस : जनतालाई गणतन्त्रको अनुभूति दिलाउन आग्रह


nepal-republic-day-686x435

१४ जेठ, चितवन ।  नेपाली राजनीतिमा छ दशकभन्दा बढी संघर्ष गरेका पुराना नेताहरुले गणतन्त्र स्थापनाको एक दशक बित्दा पनि जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले जनताले राजनीतिक संघर्ष जे जति गरे अब त्यसको प्रतिफल पाउनु पर्ने बताएका हुन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालका राजनीतिक गुरु पुराना वामपन्थी नेता ९२ वर्षीय खम्बासिंह कुँवर गणतन्त्र आएको ११ वर्ष बित्दा पनि यसको अनुभूति जनताले गर्न नपाएकामा चिन्तत हुनुहुन्छ । उहाँले अब सरकारले निःशुल्क शिक्षा, स्वास्थ्य, बाटोघाटो, कलकारखाना, खानी अनुसन्धान र उत्खनन, सुकुम्बासी समस्या समाधानलगायतका काम गर्नुपर्ने बताउनुभयो ।

समय जसरी परिवर्तन भइरहेछ, त्यसरी नै जनताको सोचाइमा पनि परिवर्तन भइरहेको भन्दै उहाँ भन्नुहुन्छ, “पार्टी र सरकार जनताको हकहितका पक्षमा अगाडि बढ्नुपर्छ । अहिले दुई ठूला कम्युनिष्ट पार्टी एक भएकामा निकै खुशी देखिनुभएका कुँवरले भन्नुभयो, “पाँच वर्षभित्र सरकारले जनताको इच्छा, आकांक्षा सम्बोधन गर्नुपर्छ । नत्र सबै ध्वस्त हुन्छ । जनताले गणतन्त्रको अनुभूति गर्न पाउँदैनन् ।”

विसं २०४८ मा नेकपा माओवादी गठन भएपछि निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहनुभएका खम्बासिंह जनयुद्धकालमा भूमिगत हुनुभयो ।

अर्का पुराना वमपन्थी नेता सूर्यबहादुर मास्के कम्युनिष्ट बन्नुभएको ६५ वर्ष भयो । त्रियासी वर्षीय मास्के जनताले गणतन्त्रको प्रत्याभूति अझै गर्न नपाएकामा चिन्तित हुनुहुन्छ । दुई पार्टी मिलेर बनेको कम्युनिष्ट सरकारले जनतालाई गणतन्त्रको आभाष दिलाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ । अठार वर्षको उमेरमा पुष्पलाल श्रेष्ठको हातबाट काठमाडौँमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका मास्केले यसअघि नै नेपाली जनताले गणतन्त्रको अभास गर्नुपथ्र्याे भन्नुभयो ।

प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठको पूरै जीवन संघर्षमा बित्यो । बिपी, गणेशमान, कृष्णप्रसाद, सुवर्णशम्शेरजस्ता नेतासँग राणा र राजाका विरुद्धमा संघर्ष गर्नुभएका श्रेष्ठलाई अहिलेको अवस्था चित्त बुझ्न सकेको छैन । काँग्रेस कमजोर बनेकामा चिन्तित श्रेष्ठ नेपालमा गणतन्त्र आएर पनि जनताले त्यसको लाभ लिन नपाएको बताउनुहुन्छ । सघैँ संघर्षको मैदानमा धेरैले बलिदानी दिएको भन्दै उनीहरुको सपना पूरा गर्न देशलाई समृद्धितर्फ लैजानु पर्ने उहाँको सुझाव छ ।

विसं २००३ मा राष्ट्रिय काँग्रेसको सदस्य बनेर पार्टी र पार्टीका नेतालाई पाल्दै आउनुभएकी समाजसेवी मैयादेवी श्रेष्ठ गणतन्त्र आएको यतिका वर्ष बित्दा पनि जनता भोकै र नाङ्गै देख्नु पर्दा दुःख लागेको बताउनुहुन्छ । रु ८२ करोडभन्दा बढीको दान गरिसक्नुभएकी श्रेष्ठ दुईपटक सांसद भइसक्नुभएको छ । विभिन्न देशले छोटो समयमा प्रगति गरेको बताउँदै उहाँले नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आए पनि जनता अझै गरीब हुनु दुःखद विषय भएको बताउनुभयो ।

अब स्थायी सरकार बनेर गणतन्त्रलाई संस्थागत गर्नुपर्ने उहाँहरुको भनाइ छ । जनताले गरेका अपेक्षालाई पूरा गर्न नसके गणतन्त्रका लागि बलिदानी दिनेहरुमाथि अन्याय हुने उहाँहरुले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !