१२ पुस २०८१, शुक्रबार

पुल भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध


पुल भासिएपछि

धादिङ । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल आज भासिदा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसी पट्टिको भाग भासिएको थियो । दिउँसो केही समय एकातर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो । नयाँ पुल निर्माणका लागि पुल छेउमा केही समयदेखि खनिएको थियो । राजमार्ग अवरुद्ध भएपछि साना सवारी साधनलाई कच्ची सडक प्रयोग गरी आवागमन गरिएको छ ।

ठूला सवारी साधनका लागि सडक मर्मत गरेर मात्र आवागमन सञ्चालन गर्न सकिने भएकाले केही समय लाग्ने जैसवारले बताए । सहजताअनुसार हेटौँडा काठमाडौँ र काठमाडौँ नुवाकोट गल्छीको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !