१४ जेष्ठ २०८१, सोमबार

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित


rastriya-sabha-1

१३ जेठ, काठमाडौँ ।  राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५÷७६को नीति तथा कार्यक्रम पारित गरेको छ ।

बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले दिएको जवाफप्रति स्पष्टीकरण माग गर्नुभएको थियो ।

नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे र राजपाका लालले पेश गरेको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । त्यसैगरी गरी अर्का संशोधनकर्ता प्रमिला कुमारीले भने आफ्नो प्रस्ताव फिर्ता लिनुभएको थियो ।

प्राकृतिक विपत्ति तत्काल सम्बोधन गरिने 
प्रधानमन्त्री ओलीले प्राकृतिक विपद् एवं जनताका समस्यालाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफपछि पनि पुनः स्पष्ट हुन चाहनुभएका सदस्यको जवाफ दिँदै उहाँले जनताका समस्यालाई समाधान गर्न सरकार तम्तयार अवस्थामा रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम साझा भएको बताउँदै सबै नेपालीलाई अधिकारसम्पन्न बनाउन सरकार लागिपरेको छ भन्नुभयो । सुनकोशी डाइभर्सन र हुलाकी राजमार्ग तीन वर्षमै पूरा गरिने प्रतिबद्धता व्यक्त गरिएको प्रधानमन्त्रीको भनाइ छ ।
उहाँले वास्तविक सुकुम्बासीलाई जनता आवास कार्यक्रममार्फत नयाँ स्थानमा सारिने बताउनुभयो । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गरिने र प्रदेश नं २ का सिँचाइका कार्यलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आर्थिक सर्वेक्षण पेश 

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४÷७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०७४ पेश गर्नुभयो । राष्ट्रियसभाको अर्काे बैठक यही जेठ १५ गते साँझ ६ः४५ बजे बस्नेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !