१९ बैशाख २०८१, बुधबार

पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु


पाल्पाको जोरधारामा बस दुर्घटना

पाल्पा । पाल्पाबाट बुटवल जाँदै गरेको बस जोरधारामा दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड जोरधारामा भएको दुर्घटनामा एक जनाको मृत्य भएको छ ।

बुटवलबाट बाग्लुङ बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ती महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतकको परिचय अहिलेसम्म खुल्न सकेको छैन । दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दार कार्य सुरु गरेको थियो । दुर्घटनामा घाइतेहरूको स्थानीयले पनि उद्दार गरेका थिए ।

प्रहरीका अनुसार अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !