२० बैशाख २०८१, बिहिबार

कल्पनाले ग्रहण गरिन् ६ जनाको अभिभावकत्व


Nepalpatra

१२ जेठ, पर्वत । यहाँको एक विकट गाउँकी महिलाले एकै दिन छ विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छन् । महाशिला गाउँपालिका–५ पाखापानीकी कल्पना गुरुङले विपन्न बालबालिकालाई विद्यालय भर्ना गराइन् ।

लामो समयसम्म वैदेशिक रोजगारीका लागि विदेशमा बसेर नेपाल फर्किएकी गुरुङले आफूले पढेको स्थानीय जनविकास माविलाई ३० हजारसमेत प्रदान गरेकी छन् ।

उहाँले छ बालबालिकालाई अहिले अध्ययनरत तहदेखि कक्षा १२ सम्म पढाउने गरी विद्यालयसँग सम्झौतामा हस्ताक्षर गरिन् । बालशिक्षाका मीरा सुनार र एलिसा गुरुङ, कक्षा ४ का हरिकला क्षेत्री र भोलाकुमारी नेपाली तथा कक्षा ५ का धनबहादुर क्षत्री र कक्षा ८ का रामबहादुर क्षेत्री छनोट गरिएको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर क्षत्रीले जानकारी दिए । ती बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ ।

महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि शिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्ने औँल्याए । हाल काठमाडौँ निवासी गुरुङले विद्यालयमा भएको सुधारले आफू हर्षित भएको बताइन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !