२१ बैशाख २०८१, शुक्रबार

दुई वर्षदेखि अवरूद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा


प्रधानमन्त्री कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो ।

भेरिफाइड उक्त पेज विगत दुई वर्षदेखि अवरूद्ध रहँदै आएको थियो। सरकारका कामको एकीकृत प्रचार र सूचना संयन्त्रलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको सचिवालय टीमले सबै सामाजिक सञ्जाललाई सञ्चालनमा ल्याउने योजनाअनुरूप आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा ल्याइएको हो ।

प्रधानमन्त्री कार्यालयले नेपाल सरकारको मातहतमा रहेका सबै कार्यालयहरूले फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालहरू प्रयोग गर्नेगरि निर्देशिकाको मस्यौदासमेत तयार गरिसकेको छ । उक्त निर्देशिका मन्त्रिपरिषद बैठकबाट पारित भएसँगै कार्यान्वयनमा आउने छ ।

“सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका २०८०” नाम दिइएको उक्त प्रस्तावमा संघ, प्रदेश र स्थानीय तहसम्म सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने र सोका लागि सबै तहका सामाजिक सञ्जालको एकीकृत भेरिफाइड गर्ने पनि प्रस्ताव गरिरहेको छ ।

निर्देशिका सञ्चालनमा आएपछि नेपाल सरकारका तीनै तहका सबै कार्यालय र निकायहरूले तोकिएका सामाजिक सञ्जालहरूको अनिवार्य प्रयोग गर्नेछन् । यसबाट सरकारी कामकाज र सेवाको सेवाग्राहीमा व्यवस्थित प्रचार र सूचना सम्प्रेषण हुने अपेक्षा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !