७ जेष्ठ २०८१, सोमबार

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारद्वारा टोली गठन, प्रधानमन्त्रीले पनि भेट्ने


मिटरब्याज पीडित

काठमाडौँ । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सहसचिव र उपसचिव रहेको ४ सदस्यीय वार्ता टोली गठन गरेको हो ।

सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार तामाङ र प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका सचिव जंगा बहादुर दंगासहितको वार्ता टोली गठन गरेको हो ।

सो वार्ता टोलीले मिटरब्याज पीडितहरुसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नेछ । वार्ता टोलीले ब्रिफिङ गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज पीडितलाई भेटेर माग सम्बोधन गर्ने बालुवाटार स्रोतले बताएको छ ।

आज मंगलवार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका थिए ।

आज बिहान मिटरब्याज पीडितलाई भेट्न गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायत बालुवाटार पुगेका थिए ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिटरब्याज पीडितको मागमा समर्थन गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

यसअघि हिजो जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेका थिए । अध्यक्ष राउतले आज मिटरब्याज पीडितसँग भेट गरी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न सरकारसँग आग्रह गरेका थिए ।

यसैगरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पनि मिटरब्याजी पीडितको मागप्रति ऐक्यबद्धता जनाएका छन् । शाहले उनीहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै समस्या समाधानका लागि सरकारसँग माग गरेका छन् ।

मिटर ब्याज पीडित सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्नेलगायत माग गर्दै आज काठमाडौँमा सडकमा प्रर्दशन गरेका छन् । सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटर ब्याज विरुद्ध कानुन निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्दार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका माग राखी आन्दोलन गर्दै आएका मिटरब्याजी पीडितके माग राख्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

टंगाल पुगेर मिटरब्याज पीडितको आन्दोलनप्रति रवि लामिछानेको ऐक्यबद्धता

मिटरब्याज पीडितको समस्या समाधान गर्न अध्यक्ष राउतको आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !