७ बैशाख २०८१, शुक्रबार

सहकारीमा सकारात्मक प्रवृत्ति प्रवद्र्धन गरौँ : सचिव रेग्मी


डा. दामोदर रेग्मी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा स्थापित रहिआएकाले यसको प्रवद्र्धन गर्नु जरुरी भएको बताएका छन् ।

धनगढीस्थित नवजीवन सहकारी संस्थाका पदाधिकारीसँगको अन्तर्क्रियामा उनले सहकारीको समन्यायिक विकासमार्फत देशमा आर्थिक–सामाजिक रुपान्तरण गर्ने क्षमता बढाउनुपर्छ भने । सचिव रेग्मीले सहकारीका मूलभूत आदर्श र सिद्धान्तको व्यवहारिक प्रयोग एवं कानुनको परिपालना गर्ने परिपाटीको विकास तथा स्वअनुशासन परिपालना हुनसकेमा सामाजिक ऊर्जाका रूपमा रहेको यस क्षेत्रमा सुशासनको आयाममा समेत सकारात्मक सन्देश प्रवाह हुने धारणा राखे ।

देशको सवल अर्थतन्त्र निर्माण गर्न सहकारी अभियानलाई प्रभावकारीरूपले सञ्चालन गर्न सबै सरोकारवालाको सहकार्य अनिवार्य भएको उल्लेख गर्दै उनले सहकारीमा सकारात्मक प्रवृत्तिको प्रवद्र्धन र नकारात्मक प्रवृत्तिको नियन्त्रण गर्न जरुरी रहेको विचार प्रकट गरे ।

नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले अहिले संस्थाले दैनिक रु एक करोडको हाराहारीमा बचत सङ्कलन गर्नुका साथै किसानको हकहितमा कर्जा प्रवाह बचत सुरक्षा सुनिश्चित गरेको बताए । सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएकाले नवजीवन सहकारीले २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारसमेत प्राप्त गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !