८ बैशाख २०८१, शनिबार

नुवाकोटमा बस दुर्घटना : ३ जनाको मृत्यु, २३ जना घाइते


नुवाकोटमा बस दुर्घटना

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख ८४५ नंको बस विदुर–१२ चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ भमराका अन्दाजी ६२ वर्षीय रामप्रसाद अर्याल, उहाँकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् । दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

नमस्ते पासाङ ल्हामु यातायात प्रालिमार्फत सञ्चालित उक्त बस चैनपुरस्थित पिपलबोट भन्ने स्थानको उकालोमा यात्रु ओरालेर अघि बढ्ने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । उकालोमा अघि बढ्नुपर्ने बसपछि हटेर एक सय ५० मिटर तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख मिलनकुमार सिंहले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !