६ जेष्ठ २०८१, आइतबार

सिंहदरबारमा आन्दोलित यातायात मजदुर र सरकारबीच वार्ता जारी


यातायात मजदुर र सरकारबीच वार्ता

काठमाडौँ । सरकार र आन्दोलित यातायात मजदुरबीच वार्ता जारी रहेको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात मजदुर र सरकारबीच वार्ता जारी रहेको हो ।

जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी, यातायात व्यवसायी, मजदुर सङ्गठनहरूको सहभागिता रहेको छ ।

बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारले यातायात व्यवसायीलाई वार्तामा बोलाएको हो । ट्राफिक जरिवाना बढाइएको लगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएपछि सरकारले मजदुरसँग वार्ताको लागि सिंहदरबारमा बोलाएको हो ।

यातायात व्यवस्था विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारी गरी सोमबार नयाँ बसपार्कमा घटेको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले समस्याको समाधान गर्न सबै पक्ष संयमित भई आ–आफ्नो ठाउँबाट पहल गर्न अपिलसमेत गरेका छन् ।

यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका छन् । विसं २०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा सञ्चालनमा ल्याएको थियो ।

उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोर–दोहोर गर्दै आएका छन् । सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रोबस र केही बस भने अहिले नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।

पछिल्लो समय नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !