२१ बैशाख २०८१, शुक्रबार

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो


टर्की र सिरियामा भूकम्प

काठमाडौं । टर्की र सिरियामा भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २० हजार नाघेको छ । बीबीसीका अनुसार टर्की र सिरिया दुई देशमा भूकम्पमा मृत्यु हुनेको संख्या २० हजार २९६ पुगेको हो ।

हालसम्म भूकम्पमा परी टर्कीमा १७ हजार १३४ र सिरियामा ३ हजार १६२ जनाको मृत्यु भएको छ । यस्तै हजारौँ घाइते छन् भने लाखौँ मानिस घरबारविहीन बनेका छन् ।

बीबीसीका अनुसार उद्धारकर्मीहरूले अझै पनि आफ्नो काम जारी राखेतापनि अब जिवितै उद्धार गर्न सकिने सम्भावना कम हुँदै गएको छ । सहायताकर्मी खोजी र उद्धार कार्यमा चौथो दिन पनि टोलीहरू परिचालित भएका छन् । घाइते र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको भनाइ छ ।

वर्षा र हिमपातले उद्धारमा थप समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत पुर्‍याउने र पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन विश्वका धेरै देशले सहयोग सामग्री पुर्‍याइरहेका छन् ।

हिउँदको चिसो, भोकमरी र निराशाले यति बेला टर्की र सिरियाका लाखौँ मानिसहरू थप पिडामा छन् । विश्व स्वास्थ्य संगठनले भूकम्पबाट ती दुवै देशमा गरी दुई करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !