८ बैशाख २०८१, शनिबार

प्रेमिकालाई नभेटी स्वदेश फर्किएका शोभराजले दिए नेपालविरुद्ध मुद्दा हाल्ने धम्की


चार्ल्स शोभराज र निहिता विश्वास

काठमाडौँ । आफूलाई जेलबाट छुटाउन लडेकी प्रेमिकालाई नभेटी स्वदेश फर्किएका ‘सिरियल किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजले नेपालविरुद्ध मुद्दा हाल्ने धम्की दिएका छन् ।

जेलमै हुँदा शोभराजकी नेपाली प्रेमिकाका रुपमा चर्चित नेपाली युवती निहिता विश्वासलाई नभेटी फ्रान्स फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एजेन्स फ्रान्स प्रेस (एएफपी) लाई प्रतिक्रिया दिँदै शोभराजले नेपालविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका हुन् ।

जेलमै हुँदा २०६५ असोजमा आफूभन्दा ४५ वर्ष कान्छी निहितासंग जेलमै बिहे गरेका थिए भने आफ्नो देश फ्रान्स फर्किंदै गर्दा उनले शुक्रबार भने निहिता भेट्नसम्म मानेनन् ।

सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहँदा शोभराजसँग बिहे गर्दा निहिता २० वर्षकी थिइन् भने शोभराज स्यो समयमा ६४ वर्षका थिए । अहिले उनी ७७ नाघेपछि जेलबाट रिहा भएर स्वदेश फर्किसकेका छन् भने निहिता ३५ वर्षकी भइसकेकी छिन् । यसअघि २०७१ मा नै दुईको प्रेमसम्बन्ध टुटेको चर्चा चलेकोमा सोको आज पुष्टि भएको छ ।

पछिल्लो समय शोभराजको मुद्दा अधिवक्ता गोपाल शिवाकोटीले हेरेका थिए । शोभराज केन्द्रीय कारागारका जेलरमार्फत अधिवक्ता शिवाकोटीसँग नियमित कानुनी परामर्श गरेका थिए ।

आज शुक्रबार साँझ साढे ६ बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका हुन् । उनी कतार एयसवेजको जहाजबाट दोहा हुँदै फ्रान्स लागेका हुन् । आज दिउँसो केन्द्रीय कारागार सुन्धारबाट छुटेलगत्तै अध्यागमन विभाग लगिएका शोभराज सवै कागजी प्रक्रिया पूरा गरेर स्वदेश फर्किएका हुन् ।

५० हजार रुपैयाँ जरीवानासहित १० वर्ष नेपाल आउन नपाउने गरी शोभराज डिपोर्ट भएका हुन् । १९ वर्ष २ महिना केन्द्रीय कारागार जेल जीवन बिताएर शोभराज आज छुटेका थिए । हत्यासहितका विभिन्न अपराधमा सजाय काटेका शोभराजलाई सर्वोच्च अदालतले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले केन्द्रीय कारागार सुन्धारामा रहेका शोभराजलाई छाड्न आदेश दिएको थियो । न्यायाधीशद्वयको संयुक्त इजलासले शोभराजलाई कैदबाट मुक्त गर्न र आदेश दिएको १५ दिनभित्र उनलाई आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेश दिएको थियो ।

नेपालमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा शोभराज २०६० सालदेखि केन्द्रीय कारागार सुन्धारामा रहेका थिए । २८ मंसिर २०३२ मा मारिएका अमेरिकी नागरिक कोन्नी र त्यसको तीन दिनपछि मारिएका लरेन्ट दुईको हत्या अभियोगमा शोभराज केन्द्रिय कारागारमा बन्दी जीवन विताएका थिए ।

यो पनि पढ्नुहोस्

अन्तत: आफ्नो देश फ्रान्स फर्किए चार्ल्स शोभराज


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !