५ जेष्ठ २०८१, शनिबार

सप्तरीमा श्रीमती हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद


कारागार

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्म कैद सजाय गरेको छ ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित जन्म कैद सजाय गरेको अदालतले जनाएको छ ।

राजबिराज नगरपालिका–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरी बस्ने दम्पतिबीच आपसी विवाद हुँदा ४० वर्षीया पत्नी गीता रजकलाई हिरालालले हत्या गरेका थिए ।

राजविराज नगरपालिका–१ स्थित प्राङ्गरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेजभित्र गीताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गत मङ्सिर १० गते शव फेला परेको थियो ।

आरोपित मङ्सिर १० गते नै पक्राउ परेका थिए । मृतकका बाबु गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मङ्सिर १० गते किटानी उजुरी दिएका थिए ।

आरोपितले जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयका साथै जिल्ला अदालतसमेतमा हत्या गरेको स्विकार्दै साविती बयान गरेपछि अदालतमा अभियोगपत्र दायर भएलगत्तै फैसला गरिएको अदालतले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !