७ बैशाख २०८१, शुक्रबार

जुम्ला पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या ७ जना पुग्यो


जुम्ला पहिरो

काठमाडौँ । जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । पहिरोमा परेर २ जना गम्भीर घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घट्नास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जुम्ला स्रोतका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीय गणेशबहादुर शाही, उनका २२ वर्षीय छोरा रमेशबहादुर शाही, रमेशकी पत्नी २२ वर्षीया पानसरा शाही, रमेशका ८ वर्षीय छोरा अनमोल शाही, ५ वर्षीय छोरा मिलन शाही, छिमेकी २४ वर्षीय सुरेन्द्र हमाल र २२ वर्षीया विद्या शाहीको मृत्यु भएको हो ।

“बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबैजना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्”, उनले भने, “प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ ।”

जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घट्नास्थलमा पुग्ने सडक सबै भत्किएको छ । जिल्ला सुरक्षा समितिको टोली पैदल घट्नास्थलतर्फ जाँदै गरेको डिएसपी चन्दले बताए ।

“हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो”, उनले भने, “साँझसम्म घट्नास्थलमा पुग्ने आश गरेका छौँ ।” सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डिएसपी चन्दले बताए । वर्षाका कारण जिल्लाभरि टेलिफोन सेवासमेत अवरुद्ध भएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !