१३ बैशाख २०८१, बिहिबार

गृहमन्त्रीको निर्देशनपछि पर्यटनमन्त्रीले थुनाएका सुरक्षागार्डलाई छाड्ने तयारी


शेरजंग गुरूङ र रवि लामिछाने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोप लागेर थुनिएका सुरक्षा गार्डलाई रिहा गर्ने तयारी गरिएको छ ।

चौतर्फी चर्को आलोचना भएपछि गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका थिए । गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

यसअघि प्रमुख जिल्ला अधिकारीले पाँच दिनको थुना म्याद दिएका थिए । गृहमन्त्रीको निर्देशनपछि प्रहरीले प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गरेर छाड्ने तयारी गरेको हो । सरकारी वकिल कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गर्ने तयारी भइरहेको छ ।

यस्तै पर्यटनमन्त्री श्रेष्ठको सचिवालयले थुनामा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई थुनामुक्त गर्न गर्न गृह मन्त्रालयलाई आग्रह गरेको बताएको छ । मन्त्री श्रेष्ठका स्वकीय सचिव भीमसेन राजवाहकले प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयमार्फत गुरुङले प्रहरीसमक्ष गल्ती महसुस गरिसकेकाले थुनामुक्त गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको बताएका हुन् ।

यद्यपि पर्यटनमन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । शेरजंगकी पत्नी लक्ष्मीले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन दिएकी हुन् ।

मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो । भीएफएसमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।

यस्तो छ हेर्नुहोस् पर्यटनमन्त्रीको सचिवालयले निकालेको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !