काठमाडौँ । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले अभियानका लागि नेपाल आएका सदगुरुलाई वन शुभकामना पत्र हस्तान्तरण गर्दै अभियानसँग ऐक्यबद्धता जनाएका छन् ।
ललितपुर जिल्लाको गोदावरीमा आयोजना गरिएको एक कार्यक्रममा उनले माटो जोगाऔँ अभियानका लागि सदगुरुले गर्नुभएको ३० हजार किलोमिटर यात्रालाई सम्मान गर्न र सघाउन वन मन्त्रालयमार्फत देशभरिमा कम्तीमा पनि ३० हजार वृक्षरोपण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
“तपाईँको अभियानमा मन्त्रालयसहित अन्य माध्यममार्फत सधैँ हातेमालो गरेर अगाडि बढ्ने छौँ, तपाईँले गरेको राम्रो काममा हाम्रो ऐक्यबद्धता छ”, मन्त्री यादवले भने, “वृक्षरोपणको कार्य भदौ महिनाभित्रै सुरुआत गरिने छ ।”
उक्त अभियानका अभियान्ता जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफू निकै हर्षित भएको उहाँले बताउनुभयो । माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सदगुरु जग्गीले चलाउनुभएको उक्त महाअभियानको जति प्रशंसा गरे पनि कम हुने मन्त्री यादवको भनाइ थियो ।
सदगुरुलाई यादवले प्रतिबद्धतापत्र हस्तान्तरणसँगै संसारको दुर्लभ एकसिङ्गे गैँडाको फोटो उपहार प्रदान गरेका थिए । मन्त्री यादवले भने, “सदगुरुले गर्नुभएको काम, खासगरी हामी राजनीतिज्ञले गर्ने काम हो, हामीले गर्नुपर्ने काम तपाईँले गरिरहनुभएको छ, योभन्दा अरु खुसीको कुरा के होला ?”