८ बैशाख २०८१, शनिबार

एक्सनमा उत्रिए बालेन : काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरको डोजर चल्यो


डोजर चल्यो

काठमाडौं । काठमाडौँ महानगरपालिकाका आम नागरिकले गरेको अपेक्षाअनुसार काम गर्न नसकेको भनेर आलोचित हुँदै आएका मेयर बालेन साह एक्सनमा उत्रिएका छन् । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले समेत काठमाडौँको फोहर उठाउन नसकेको भनेर मेयर साहको कामप्रति असन्तुष्टि प्रकट गर्दै व्यंग गरेपछि मेयर साह तातेका हुन् ।

काठमाडौं महानगरले सुन्धारास्थित काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्सको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका अवैध संरचना भत्काएको हो ।

आज बुधबार अवैध संरचना हटाउन र पसल खाली गराउन महानगरका मेयर साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पुगेका हुन् । संरचना भत्काउनुअघि महानगरका प्रहरीले ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराएका थिए ।

यसअघि गत सोमबार मात्र महानगरले बानेश्वर क्षेत्रमा अनाधिकृत संरचना भत्काउनुको साथै पार्किङका लागि बनेको संरचना सोही प्रयोजनमा प्रयोग गर्न निर्देशन दिएको थियो । महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !