७ मंसिर २०८१, शुक्रबार

गृहको निर्देशन : सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्नु


गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । गृहले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको हो ।

आज मंगलबार गृह सचिवस्तरको निर्णयबाट मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो ।

मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ । मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ ।

सिंहदरबारभित्रको सीसीटीभीको निरीक्षण/अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ । सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ अनुसार सीसीटीभीबाट खिचेका दृश्यहरू कम्तीमा ३ महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गते करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ । अर्थ मन्त्रालयमा रहेको सीसीटीभी फुटेज १३ दिनमै मेटिएको भनिएपछि गृहमन्त्रालयले कार्यविधिअनुसार ३ महिनासम्म सुरक्षित राख्न निर्देशन दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !