१२ बैशाख २०८१, बुधबार

यसरी अवतरण भयो वाइड बडी भैरहवा विमानस्थलमा


वाइड बडी

काठमाडौं । संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तिर यात्रुको भीडभाड ।

समूह, समूहमा भलाकुसारी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक हुनुपर्छ यती धेरै भीडभाड आन्तरिक टर्मिनलमा तर, यो भीडभाड व्यवसायिक उडानका यात्रु नभई परीक्षण उडानका लागि वाइड बडी जहाज चढ्न तम्तयार यात्रु थिए ।

आन्तरिक यात्रुले यसै पनि भीडभाड हुने आन्तरिक टर्मिनलमा एकैपटक धेरै सङ्ख्यामा उपस्थिति हुँदा विमानस्थलमा फरक माहोल देखिन्थ्यो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारी, पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रतिनिधि एवं व्यवसायी तथा सञ्चारकर्मीको भीडले विमानस्थलमा नयाँ रौनक छाएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीलगायत विशिष्ठ व्यक्ति एवं चालक दलका सदस्य २६० यात्रु सवार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सको) वाइड बडी जहाजमा थिए ।

काठमाडौँ विमानस्थलबाट साँझ ५ः १२ बजे मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडी जहाजले उडान भरेर ५ः ५५ बजे अवतरण भएको थियो ।

काठमाडौँबाट भैरहवा २७ मिनेटको उडान भएपनि ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ भएकाले जहाजले धावनमार्ग नजिकबाट ओभरसुट गरेर राउण्ड लाएपछि अवतरण गरेको थियो ।

भैरहवाको ३८ डिग्री तापक्रमको प्रवाह नगरी काठमाडौँबाट ओर्लिएको भीडले विमानस्थलमा थप उल्लासमय बनायो । स्थानीयको उपस्थिति, सङ्घ संस्थाका प्रतिनिधि, व्यवसायी, सुरक्षाकर्मी आदिको बाक्लो उपस्थिति थियो ।

वाइड बडी जहाजले प्रसिद्ध लुम्बिनी क्षेत्रलाई राउण्ड मारेर अवतरण गर्दा जहाजभित्र गडगडाहत ताली बजे । जहाज अवतरण भएपछि पानीका फोहोरालाई स्वागत गरियो । विमानस्थल वरिपरि र भित्र जहाज हेर्ने र फोटो, भिडियो, सेल्फी खिच्नेको भीड देखियो ।

सामान्य अवस्थामा ४० हजारभन्दा माथि फिटमा उडान भर्ने वाइड बडी जहाजलाई १७ हजार फिटबाट उडान भर्नु पनि चानचुने विषय थिएन ।

वाइड बडी जहाजको चालक दलका सदस्यको नेतृत्व गर्नुभएका वरिष्ठ क्याप्टेन श्रवण रिजाललाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडी जहाज अवतरण गराउन पाउँदा आनन्द अनुभूति भएको बताए ।

यसले गर्दा नेपालको लुम्बिनीलाई संसारभर चिनाउँछ नै यसले नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको भनाइ थियो ।

“यसले इन्धन वचतमा समेत सहयोग पुग्ने । हरेक उडानमा ३५० किलो हवाई इन्धन पनि बचत हुने भएकाले यो राज्यको बचत पनि गराउछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !