२ मंसिर २०८१, आइतबार

पुनर्बहाली गर्दै गभर्नरले भने- व्यक्तिमात्र हैन, प्रणालीकै जित भएको छ


महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको अल्पकालिन आदेशपछि आज आफ्नो कार्यालय नेपाल राष्ट्र बैंक फर्किएका छन् । आज बुधबार बिहान साढे ११ बजे काममा फर्किएपछि संचारकर्मीसंग गभर्नर अधिकारीले व्यक्तिमात्र नभएर प्रणालीकै जित भएको बताएका छन् ।

हिजो सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएर पुनर्बहाली भएपछि आफ्नो पदीय जिम्मेवारी सम्हाल्न राष्ट्र बैंक पुगेका अधिकारीले प्रणालीका लागि सबैले काम गर्नुपर्ने स्पष्ट पारे । उनले सर्वोच्चको फैसला व्यक्तिको लागि भन्दा पनि समग्र प्रणालीको लागि भएको बताएका हुन् ।

अर्थमन्त्रीसँग काम गर्न कत्तिको सहज हुनेछ ? भन्ने पत्रकारको प्रश्नको उत्तर दिंदै उनले आग्रह-पूर्वाग्रह केही पनि नराख्ने बताए । “हामी व्यक्ति भन्दा पनि संस्था नै हौँ । नेपाल राष्ट्र बैंक, गभर्नर, अर्थ मन्त्रालय संस्था हो । आग्रह-पूर्वाग्रह राखेर काम हुँदैन । त्यसमा सतर्क हुनेछौँ,” उनले भने ।

गभर्नर अधिकारीले आफ्नो पक्षमा आदेश दिने न्यायाधीश, बहस गर्ने अधिवक्ताहरु र आफ्ना लागि बोलिदिने सबैप्रति आभार व्यक्त गरे । अदालतको अन्तरिम आदेश प्रणालीको पक्षमा आएको भन्दै उनले आगामी दिनमा आउने आदेश पनि आफ्नो पक्षमा आउने आशा व्यक्त गरे।

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले हिजो अल्पकालीन आदेश दिएको थियो । न्यायाधीश हरि फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नर अधिकारीमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।

मुद्दाको पुरा किनारा नलागेपनि सर्वोच्चको यो आदेशसंगै गभर्नर अधिकारी आजदेखि काममा फर्किएका हुन् । न्यायाधीश फुयालको एकल इजलासमा भएको सुनुवाइपछि गभर्नर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश जारी भएको हो ।

सर्वोच्चले अधिकारीलाई पुनः राष्ट्र बैंकको गभर्नर पदको जिम्मेवारी सम्हाल्न अल्पकालीन आदेश दिएसँगै अहिले अर्थमन्त्री शर्माले नैतिककताको आधारमा राजीनामा दिनुपर्ने दवाव समेत बढेको छ ।

यो पनि पढ्नुहोस्

घुमाउरो शैलीमा विश्वप्रकाशले मागे अर्थमन्त्री शर्माको राजीनामा

गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !