१४ बैशाख २०८१, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र र देउवालाई कारवाही माग गर्दै उजुरी


gyanendra_sherbahadur

उदयपुर– सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ। १० वर्षे द्वन्द्वक्रममा भएका घटना छानबिन गर्न बनेको आयोगमा स्थानीय शान्ति समिति कार्यालयमार्फत उनीहरूविरुद्ध उजुरी परेको हो।

पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा तत्कालीन शाही सेना परिचालन गरी माओवादीको नाममा सर्वसाधारणको हत्या, धरपकड र कुटपिट गरी अंगभंग गराएको भन्दै उजुरी परेको समितिका सचिव सञ्जीव चौधरीले बताए। माओवादी केन्द्रका जिल्ला उपाध्यक्षसमेत रहेका द्वन्द्वपीडित राजन किराती (वासु)ले आफू लगायत धेरैलाई देउवा प्रधानमन्त्री र ज्ञानेन्द्र राजा भएको बेला घाइते र अंगभंग बनाएको सबुत प्रमाणसहित उजुरी दिएको बताए।

किरातीको उजुरीमाथि छानबिन गर्न कारबाहीका लागि आयोगमा पठाइएको समितिले जनाएको छ। किटानीसहित दिएको उजुरीमा तत्कालीन राजा शाह र प्रधानमन्त्री देउवामाथि छानबिन गरी कारबाही हुनुपर्ने र आफू सहितका पीडितले न्याय पाउनुपर्ने जिकिर गरिएको छ।

अर्का घाइते बेल्टार–बसाहा नगरपालिकाका धनबहादुर राईले घरायसी कामको सिलसिलामा उदयपुरकै पोखरी पुगेका बेला शाहीकालमै ९०५९ सालमा० तत्कालीन सेनाले दाहिने हातमा गोली हानेर आजीवन अपांग र घाइते बनाएको किटानी जाहेरी दिँदै कारबाही माग गरेका छन्। सचिव चौधरीका अनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगमा अहिलेसम्म १ सय २९ र बेपत्ता व्यक्तिको छानबिन आयोगमा २३ वटा उजुरी परेका छन्।

तत्कालीन राजा वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र राज्य प्रमुख भएका बखत देउवा दुई पटक प्रधानमन्त्री भएका थिए। माओवादी युद्ध चर्किएको सो समयमा धेरै नेपाली दाजुभाइले ज्यान गुमाएका थिए। अङ्गभंग भएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !