१९ बैशाख २०८१, बुधबार

कालीगण्डकी नदी दोहनको चपेटामा


कालीगण्डकी डाइभर्सन आयोजना

बाग्लुङ । बागलुङको कालीगण्डकी छेउ मालढुङ्गा निवासी बेली थापाको घरमा राम्ररी चुलो नबलेको दुई महिना भयो । विसं २०५० देखि कालीगण्डकी नदी छेउमा माछा मार्ने, ढुङ्गा, गिट्टी र बालुवा निकालेर जीविका चलाउँदै आएकी उनीमात्रै होइन, यहाँका माझी समुदायसहित २५० मजदुरको घरमा दुई महिनादेखि राम्ररी चुलो बलेको छैन ।

बागलुङ र पर्वत भएर बग्ने पवित्र कालीगण्डकी नदी दोहनको चपेटामा छ । नदी बचाउ अभियान अहिले सर्वोच्च अदालतसम्म पुगेको छ । नदी बचाउन अभियान नै सक्रिय छ । नदी बचाउ अभियानले कालीगण्डकी नदी उपकरण मुक्त बनाउने लक्ष्य लिएको छ ।

नदीमा ठूला उपकरण प्रयोग गरी कालीगण्डकी दोहन गर्दा नदीको अस्तित्व सङ्कटमा पर्ने, शालग्राम लोप हुने तथा नदी छेउछाउका कालीगण्डकी सभ्यता लोप भएर जाने भन्दै नदी दोहन रोक्न सर्वोच्च अदालतले भनेपछि ठूला क्रसर व्यवसायीको ज्यादतिको मार नदी छेउमै बसेर कयौँ वर्षदेखि जीविका चलाएका मजदुरलाई पर्न गएको छ ।

अहिले क्रसर व्यवसायीले प्रत्यक्ष दोहन रोकेका छन् । तर उनीहरुले बर्खामा दोहन गरेका बालुवा र ढुङ्गाको पहाडी क्रसरमा राखेर बिक्री गरिरहेको भए पनि दिनमा चार–पाँच डोका गिट्टी, बालुवा निकालेर बिक्री गर्ने मजदुरको रोजीरोटी गुमेको छ । नदी छेउमै बसेर जीवन धानेका हामीजस्ता माझी परिवारलाई गिट्टी, बालुवा निकाल्न नपाउँदा समस्या भएको बागलुङ नगरपालिका–१ रामरेखाका सलिता माझीले दुःखेसो गरे ।

“हामीले नदीमा आश्रित भएको आजबाट होइन, पहिल्यैबाट हो, तर केही वर्षअघिदेखि खोलामा स्थापना भएका क्रसरका कारण नदीको बहाव नै परिवर्तन भएको छ, तर हामीले डोकोमा बालुवा निकाल्दा केही बिग्रेको थिएन तर उनीहरुको मार हामीलाई प¥यो”, उनले भने, “खोलामै आश्रित माझी परिवारलाई कि विकल्प दिनुप¥यो होइन भने नदीमा चार–पाँच बोरा बालुवा निकाल्नसमेत नदिने, तर ठूला–ठूला उपकरण लगाएर नदी दोहन गरी बालुवाको पहाड बनाउन दिने, यो त अन्याय भयो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !