१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँ उपत्यकाको होलीमा सुरक्षा कडा, जथाभावी रङ दल्नेलाई कारबाही


फागु पूर्णिमा_होली

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा एक हजार ३०० ट्राफिक प्रहरी खटाई व्यवस्थापन कडा गरेको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक एकाइका प्रमुखलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीलाई हिजो व्रिफिङसमेत गरेका छन् ।

आज बिहीबार बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने जनाइएको छ ।

उच्छ्रिङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !