५ जेष्ठ २०८१, शनिबार

नेता रायमाझीले भने, ‘प्रधानमन्त्री र अध्यक्ष दुवै पद आलोपालो गर्ने भद्र सहमति भएको थियो’


tek bahadur

६ वोशाख, काठमाण्डौ । माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले एमालेसँगको पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले पार्टी एकता हुने दाबी गर्दै नेताहरुको कार्यव्यस्तताले गर्दा तयारीमा ढिलाई भएको बताए ।

एकताका लागि वैचारिक र संगठनात्मक विषय मिलाउनका लागि गृहकार्य गर्ने समय अपुग भएको भन्दै रायमाझीले वैशाख ९ गते एकता नहुनको अर्थ एकता टरेको भन्ने नभएको बताए ।

नेतृत्व र नीतिको सवालमा विवाद हुनु सामान्य भएको भन्दै उनले भएका विवाद मिलाएरै छाड्ने दाबी गरे ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद आलोपालो गर्ने विषयमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच भद्र सहमति भएको उनले बताए ।

महाधिवेशन हुनुभन्दा अगाडि नै दुवै पदमा आलोपालो गर्ने भद्र सहमति भएको रायमाझीको दाबी छ ।

“महाधिवेशनपछि पार्टी अध्यक्ष को बन्ने भन्ने कुरा महाधिवेशनकै क्षेत्राधिकारको कुरा हो । त्योभन्दा अगाडिको कुरामा आलोपालो गर्ने भन्ने कुरा मोटामोटी बाहिर पनि आइसक्यो । भित्री रुपमा पनि समझदारी भएको मैले बुझेको छु ।” उनले भने ।

पार्टी एकता गर्नका लागि दुई अध्यक्षको मात्रै व्यवस्थापन गरेर नहुने भन्दै सम्पूर्ण नेता कार्यकर्तालाई सन्तुष्ट बनाउने पर्ने रायमाझीको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !