१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्चदेखि बालुवाटारसम्म प्रधानन्यायाधीश जबराविरूद्ध मार्चपास


कानून व्यवसायी फाइल फोटो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास भएको छ । नेपाल बार एशोसिएशन लगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा सर्वोच्चबाट दिउँसो साढे २ बजे मार्चपास सुरू भएको थियो ।

नेपाल बार एशोेसिएशन, बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघले प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै मार्चपास गरेका हुन् ।

प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै सर्वोच्चवाट शुरु मार्चपास भई वालुवाटार पुगेर सकिने जनाइएको छ । देशमा न्याय शून्यताको अवस्था सिर्जना भएको भन्दै विज्ञप्तिमा प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र सम्पत्ति छानविन गर्न माग गरिएको छ ।

नेपाल बार एशोेसिएशनले यसअघि नै प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !