१३ बैशाख २०८१, बिहिबार

रौतहटमा कार दुर्घटना : ४ जना भारतीय नागरिकको मृत्यु


दुर्घटना

काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत यमुनामाई गाउँपालिका-५ झुनखुनवा चोकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको युके १२८ सी २९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै गएराति शनिवार राती १० बजे अनियन्त्रित भएर कार बाटो छेउ तलामा​ खस्दा ४ जना पुरुषको मृत्यु भएको हो ।

दुर्घटना भएको कारको सिसा तोडेर ४ जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै डाक्टरहरुले ४ जनाकै मृत्यु भएको घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा २० वर्षदेखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।

मित्रराष्ट्र भारतको बिहारमा मदिरामाथि प्रतिबन्ध लगाएकाले सिमावर्ती भारतीय बजारका मानिसहरु मदिरा सेवन गर्न गौर चन्द्रनिगाहपुरमा आउने गरेकोले अत्यधिक मदिरा सेवन गरेर भारततर्फ फर्किने क्रममा उक्त दुर्घटना भई ४ जनाको ज्यान गएको हुनसक्ने प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !