७ बैशाख २०८१, शुक्रबार

गृह मन्त्रालयको आदेश : परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनू


गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयको परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनू भनेर घरधनीहरुलाई आदेश दिएको छ । विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेपछि सरकारले परिचयपत्र बिनाका कसैलाई पनि घर/कोठा/अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ ।

यस्तै गृहले परिचयपत्र बिनाका कसैलाई पनि काममा नलगाउन समेत आग्रह गरेको छ । ११ जना अफगान शरणार्थीहरु भारतको बाटो हुँदै सुनौली नाका हुँदै नेपाल प्रवेश गरेर काठमाडौंमा लुकिछिपी बसेको खुलेपछि गृहले यस्तो कडा नीति अवलम्वन गरेको हो ।

नेपालस्थित शरणार्थी सम्बन्धी उच्च आयोगको कार्यालयले गुपचुप अफगानस्तानीलाई अस्थायी आश्रय दिएर राखे पनि त्यसको सुइँको गृह प्रशासनले ढिलो मात्र पाएको खुलेको छ । हिजो आइतबार मात्रै यसबारे जानकारी पाएपछि गैरकानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ । साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिनु हुनसमेत अनुरोध छ ।’
गृह मन्त्रालय प्रेस बिज्ञप्ति

आखिर कसरी कुन बाटो हुँदै ११ जना अफगानी शरणार्थी नेपाल छिरे ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !