८ बैशाख २०८१, शनिबार

पाँचथर बाढी पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या २७ जना पुग्यो


पाँचथरको मिक्लाजुङमा पहिरो

पाँचथर । पाँचथर जिल्लामा बाढी र पहिरामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी र पहिरामा परी २१ जनाको मृत्यु भएको छ । यस गाउँपालिका-५ कुरुम्बामा मात्रै हालसम्म १५ जनाको पहिराले पुरिएर मृत्यु भएको छ । उक्त गाउँपालिका– १, २, ४ र ७ मा गरी थप ६ जनाको मृत्यु भएको हो ।

मिक्लाजुङ गाउँपालिकामै २ जना स्वास्थ्यकर्मीलाई समेत पहिराले पुरेको छ । गाउँपालिका अध्यक्ष अमरराज माखिमका अनुसार पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारका लागि इलामको माङ्सेबुङ गाउँपालिकाबाट आएका २ जना अहेबलाई समेत पहिराले पुरेको हो । “अहिलेसम्म उहाँहरूका छाता भेटिएको छ । पहिराले २ जना अहेबसहित ३ जनालाई सोरेर लगेको छ”, अध्यक्ष माखिमले भने ।

निरन्तरको वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको र मानवीय तथा भौतिक क्षतिका विवरण आइरहेको अध्यक्ष माखिमले बताए । जिल्लाको फाल्गुनन्द गाउँपालिकामा ३ जना, फिदिम नगरपालिकामा २ जना र कुम्मायक गाउँपालिकामा १ जनाको पहिरामा परी मृत्यु भएको छ । बाढी तथा पहिराका कारण हालसम्म ३ जना बेपत्ता हुनुका साथै ६ जना घाइते भएका छन् ।

निरन्तरको वर्षाका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर करिडोर सडकसहित जिल्लाका अधिकांश सडक क्षतिग्रस्त बनेका छन् । बाढी र पहिराले सयौँको सङ्ख्यामा घर, गोठ तथा सार्वजनिक भवनमा क्षति पुर्याएको छ । पाँचथर, तेह्रथुम र धनकुटाको सिमानामा अवस्थित नावा खोलामा रहेको अस्थायी प्रहरी चौकी बाढीले पुरेको छ ।

जिल्लामा क्षतिको थप घटना टेलिफोन अवरुद्ध हुँदा बाहिर आउन सकेका छैनन् । सडक अवरुद्ध हुनाले उद्धार कार्यसमेत जटिल बनेको छ । जिल्लामा सयौँ घर क्षतिग्रस्त हुँदा स्थानीयवासी विस्थापित बनेका छन् ।

सुक्खाग्रस्त क्षेत्रका रुपमा रहेका जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकामा समेत वर्षाका कारण बाढी र पहिरो गएको छ । तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाका अनुसार केही घर पहिराले पुरेको छ भने बाढी र पहिराका कारण एक दर्जन बढी परिवार विस्थापित बनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !