१२ बैशाख २०८१, बुधबार

गुल्मीमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते


दुर्घटना

गुल्मी । गुल्मी जिल्लामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गएराति दशैं मनाउन बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप गुल्मीको रेसुंगा नगरपलिका-१० स्थित पाँचरातेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गुल्मीको मुसिकोट नगरपालिकाका २ जना महिला र १ जना पुरुषको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका जिप चालकसहित ६ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा मुसिकोट नगरपालिका-२ जलजलेका ७२ बर्षीय क्षेत्रबहादुर थापा, मुसिकोट नगरपालिका-२ जलजलेका ४५ बर्षीया राधिका थापा र मुसिकोट नगरपालिका-३ चुदरीगाउँका १९ बर्षीया संगिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

दुर्घटनामा मुसिकोट नगरपालिका ३ चुदारीगाउँका ४७ वर्षीया सुमित्रा सुनार, मुसिकोट नगरपालिका २ जलजले बस्ने ३८ बर्षीया जुना थापा र भरतपुर उपमहानगरपालिकी ५० बर्षीया राधा केसी गम्भीर घाइते छन् । उनीहरूको शरीरका विभिन्न भाग र टाउकोमा चोट लागेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये ५ जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने १ जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको छ । यस्तै मुसिकोट नगरपालिका-२ जलजलेकी ४३ वर्षीया खिमा थापा, मुसिकोट नगरपालिका-२ जलजलेका गाडी चालक २६ वर्षीय कमल थापा र मुसिकोट नगरपालिका-२ जलजलेका ३६ बर्षीय राजु थापा सामान्य घाइते भएका छन् ।

सदरमुकाम तम्घास नजिकै दुर्घटना भएका कारण तत्कालैै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो । उक्त जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !