२६ पुस २०८१, शुक्रबार

कस्तो बिडम्वना ! संखुवासभामा ८० वर्षमा मात्र नागरिकता


वैवाहिक अंगिकृत नागरिकता

किमाथाङ्का । संखुवासभाको मकालु गाउँपालिका–२ की एक वृद्धाले ८० वर्षमा नेपाली नागरिकता पाएकी छन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमा शेर्पाले मकालु–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौँ दिनमा नेपाली नागरिकता प्राप्त गरिन् ।

८० वर्षीया वृद्धा कान्छीमाले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । नेपाली नागरिकले नैसर्गिक अधिकारका रूपमा पाउने नागरिकताको प्रमाणपत्र नहुँदा अनेक दुःखकष्ट झेलेकी कान्छीमाले लामो सङ्घर्षपछि नागरिकता प्राप्त गरिन् । नागरिकता पाएपछि राज्यका तर्फबाट बुढेसकालमा पाउने सामाजिक सुरक्षा भत्तालगायत सेवासुविधाबाट बञ्चित हुनुपर्ने वाध्यता हटेको छ ।

नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने, श्रीमान् र छोरीे गुमाएकी कान्छीमालाई सरकारी सेवासुविधाका बारेमा केही थाहा छैन । दुर्गम टासी गाउँमा भिर, पहारा चहारेर दिनचार्य बिताइरहेकी उनलाई गाउँका युवाहरुले बुढेसकालमा सामाजिक सुरक्षा भत्तामात्रै पाए पनि सहज हुने थियो भनेर आवश्यक पहल गरेका थिए ।

विसं १९९८ मङ्सिर १० गते जन्मिनुभएकी कान्छीमाले सोही गाउँमा तप्के शेर्पासँग विसं २०२६ जेठ ५ गते विवाह गरिन् । उनले विवाह दर्ता लगायतका पञ्जीकरणका काम कुनै गर्न पाउनु भएन । अर्को विवाह गरेका श्रीमान्को विसं २०६८ असार १५ गते मृत्यु भएको थियो ।

कान्छी श्रीमतीपठ्ठिका छोरासँग नाता प्रमाणित गरेर वडाबाट सर्जिमिन मुचुल्का लगायतका कागजी प्रक्रिया पूरा गरेर सदरमुकाम खाँदबारी आउए उनले नागरिकता लिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !