५ जेष्ठ २०८१, शनिबार

आकस्मिक रुपमा प्रहरीको मेसमा गृहमन्त्रीले खाना खाएर निरीक्षण


Badal-in-Police-Mess

७ चैत, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आज प्रहरीको मेसमा बसेर जवानसँगै खाना खानुभएको छ ।

बिहान सवा १० बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुग्नुभएका गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डारण कक्षलगायत निरीक्षण गर्नुभएको थियो ।

त्यसपछि उहाँले मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लाग्नुभयो । त्यहाँ खाना खाइरहेको प्रहरी हतारहतार उठ्न खोज्दै थिए तर गृहमन्त्री थापाले बसेर खाइराख्न सबैलाई आग्रह गर्नुभयो ।

सो लगत्तै भान्सामा पुगी उहाँले, “हामी पनि यहीँ खाना खान्छौँं, खाना पुग्छ नि” भनेर प्रश्न गर्नुभयो । उहाँको प्रश्नबाट अकमकिएका प्रहरीले शुरुमा त विश्वास मानेनन् । ‘पुग्छ हजुर’ भनेर जवाफ दिए । “त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस्” भन्दै गृहमन्त्री थापा खाना खाइरहेका प्रहरी जवानसँगै बसेर खाना खानुभयो ।

दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो । गृहमन्त्री आउने जानकारी नपाएकै कारण वृत्तको प्रहरीले सलामी समेत अर्पण गर्न पाएनन् ।

सो अवसरमा उहाँले जनताको जिउ, धनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न वृत्तका प्रहरीलाई निर्देशन दिनुभयो ।

सुरक्षा निकायका अन्य अंग भन्दा नेपाल प्रहरीको रासनमा विभेद् रहेकोबारे आफू जानकार रहेको बताउँदै गृहमन्त्री थापाले त्यो असमानता हटाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसअघि आजै बिहान गृहमन्त्री थापाले नक्खु कारागार, महानगरीय प्रहरी परिषर ललितपुर, जाउलाखेल, महानगरीय प्रहरी प्रभाग पुल्चोकको निरीक्षण गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !