२४ बैशाख २०८१, सोमबार

छुद्दरीमा सुक्खा पहिरो, खतरा बढ्दै


उच्च जोखिममा

मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका रुडी गाउँभन्दा तल र छुद्दरी गाउँ नजिकैको भिर फुटेर धुँवा, धुलोसहितको सुक्खा पहिरो खसेको स्थानीयवासीले बताएका छन् । लगातार सुक्खा पहिरो खस्न थालेपछि कर्णाली नदीको केही भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले राससलाई बताउनुभएको छ ।

उहाँले रुडी गाउँको तलबाट निरन्तर तीन दिनदेखि सुक्खा पहिरो खस्न थालेपछि आइतबारदेखि नदी आंशिकरूपमा थुनिएको बताउनुभयो । पहिरो साउनको ५ गतेदेखि खस्न थालेको रुडीका स्थानीयवासी कर्म विकले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो त साउनको ५ गतेदेखि खस्न थालेको हो, पहिरो खस्न थालेपछि रोपाइँ पनि रोकियो र पहिरोसँगै कुलो खसेपछि रोपाइँसमेत गर्न पाएनौँ, थोरै–थोरै झर्दै थियो, आजभोलि अझै धेरै सुक्खा पहिरो खस्न थालेको छ ।”

पहिराले खानेपानीको लाइन तल झरेपछि गाउँमा खानेपानीको हाहाकार भएको विकले बताउनुभयो । गाउँमाथि र तलबाटै निरन्तर पहिरो खस्न थालेको विकको भनाइ छ । निरन्तर सुक्खा पहिरो खसेपछि रुडीका १५५ परिवार पहिराको उच्च जोखिममा छन् ।

जगन्नाथ गाउँपालिकाको केन्द्र पारि स्वामीकार्तिक खापर गाउँपालिका–१ को छुद्दरी नजिकै भिर फुटेर कर्णाली नदी पूर्णरूपमा नथुनिए पनि आशिंकरूपमा थुनिदै आएको रोजगार संयोजक जोशीको भनाइ छ । नदी थुनिएर ताल पर्दै गएको छ, पारिपट्टिबाट निरन्तर पहिरो खस्न थालेपछि जगन्नाथ गाउँपालिका कार्यालय, प्रहरी चौकी पिलुचौरलगायतका नदी आसपासका बस्ती जोखिममा रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पानी धेरै आएको छैन, तर चट्टान फुटेर पहिरो खसिरहेको छ । सुक्खा पहिराले त यति जोखिम भएको छ । लगातार पानी प¥यो भने झनै खतरा हुने जोशीको भनाइ छ । यस वर्ष सिँचाइ कुलो बगाएपछि उक्त स्थानका बासिन्दाले खेती गर्न पाएनन् । यसले गर्दा खाद्य सङ्कट हुने सम्भावना रहेको अध्यक्ष शाहीले बताउनुभयो ।

तीन दिनदेखि निरन्तर पहिरो खस्ने क्रम जारी रहेकाले कर्णाली नदीको तटीय क्षेत्रमा रहेका स्वामीकार्तिक खापर गाउँपालिका–१, जगन्नाथ गाउँपालिका–२ र ३ नं वडालगायत नदी तटीय क्षेत्रका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाले आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !