६ बैशाख २०८१, बिहिबार

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल सहित १२ घर बगे


चनौटेको रातो पुल

सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो ।

हेलम्बु हुँदै उर्लिएर आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक स्रोतका अनुसार बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर गरी १२ घर बगेका छन् ।

पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ । त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !