२१ बैशाख २०८१, शुक्रबार

राजवंशी, धिमाल र मेचे झापाका प्रथम नागरिक


झापा File Photo

सुरुङ्गा । बाह्रदशी गाउँपालिकामा ४१ जातजातिका मानिसको बसोबास रहेको छ । त्यसमा पनि कूल जनसङ्ख्याको सबैभन्दा बढी २३ दशमलव पाँच प्रतिशत राजवंशी समुदायका मानिसको बसोबास रहेको छ ।

दुई हजार घरधुरीमा रहेका राजवंशीहरूको मात्रै जनसङ्ख्या यो गाउँपालिकामा नौ हजार १३१ रहेको छ । झापाका १५ वटा स्थानीय तहमध्ये यस गाउँपालिकामा पहिलोपटक यहाँका सबैभन्दा पुराना बासिन्दा भूमिपुत्र राजवंशी जातिलाई मान्दै यहाँका राजवंशीहरूलाई प्रथम नागरिक घोषणा गरिएको छ ।

नेपालको संविधान २०७२ को अनुसूची ८ मा उल्लेख भएअनुसार धारा ५७ को उपधारा (२), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा(२) र धारा २२६ को उपधारा (१) लाई आधार मानी प्राचीनकालदेखि बसोबास गर्ने जातिलाई प्रथम नागरिक घोषणा गर्न सकिने प्रावधान रहेको छ । त्यसैलाई आधार मान्दै राजवंशी जातिलाई बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक घोषणा गरिएको हो ।

गाउँपालिकाको नवौँ गाउँसभाले गाउँपालिकाको प्रथम नागरिक राजवंशी जातिलाई घोषणा गरेको बाह्रदशी–१ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले जानकारी दिनुभयो । गत असार २२ गते राजवंशी विकास प्रतिष्ठानले गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्राचीन कालदेखि मुख्य बासिन्दा भएको सप्रमाणका आधारमा राजवंशी जातिलाई गाउँपालिकाको प्रथम नागरिक घोषणा गरिनुपर्ने माग गरेको थियो । बाह्रदशीभित्र प्राचीनकालदेखि बसोबास गरी यहाँको भूमिलाई आवाद र सिञ्चित गरेको राजवंशी जाति यस ठाउँको मुख्य जाति भएको यथेष्ठ प्रमाणहरू भएकाले सही, सत्य र यथार्थतालाई हृदयङ्गम गरी गाउँसभाबाट राजवंशी जातिलाई प्रथम नागरिक घोषणा गर्न प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो ।

गाउँपालिकाको वडा नं २ र ३ राजगढमा पर्ने राजवंशी चौकमा गाउँपालिकाले राजवंशी समुदायको संस्कृति झल्कने गरी राजवंशी समुदायकै नागरिकको पूर्ण कदको प्रतिमा राखेको छ । राजवंशी समुदायको वेशभूषा र रहनसहन झल्कने गरी राखिएको प्रतिमा अहिले आकर्षणको केन्द्र बनेको छ ।

उता दमक नगरपालिकाले भने धिमाल जातिलाई प्रथम नागरिक घोषणा गरेको छ । प्रथम नागरिक घोषणा गरिएका धिमाल जातिको ऐतिहासिकता देखाउने गरी नगरपालिका परिसरमा नै धिमालको प्रतिमा राखिएको छ ।

धिमाल कला, साहित्य र इतिहासका दस्तावेजहरू पनि क्रमशः निर्माण गरेर संरक्षण, संम्वद्र्धन र प्रवद्र्धन गरिने दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनुभयो । दमक–९ स्थित चकडपाडास्थित धिमाल संस्कृति सङ्ग्रहालयभित्र राखिएका धिमाल समुदायको प्रतिमाले उनीहरूको जन्मदेखि मृत्युसम्मका संस्कार झल्काउँछ ।

विसं २०६८ को जनगणनाअनुसार दमक नगरपालिकाको जनसङ्ख्या ७५ हजार ७४३ रहेको छ । सोमध्ये धिमालको मात्रै जनसङ्ख्या १५ हजार हाराहारी भएको नगरपालिकाले जनाएको छ ।

यता मेचीनगरपालिकामा भने मेचे जातिलाई प्रथम नागरिक घोषणा गरेको छ । गत असार १० गते नगरपालिकाको आठौँ नगरसभाले मेचे जातिलाई प्रथम जातिका रूपमा सम्मान दिइने निर्णय गरेको थियो । यद्यपि धिमाल र राजवंशी समुदायले नगरपालिकाको सो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन् । धिमाल समुदायको साझा प्रतिनिधित्व गर्दै आएको धिमाल जातीय विकास केन्द्रले मेचीनगर मात्र नभएर झापा, सुनसरी र मोरङ जिल्लामा जङ्गल फाँडेर पहिलो बस्ती बसाउने जाति धिमाल भएको दाबी गरेको छ ।

झापा जिल्लामा राजवंशी, धिमाल, मेचे, सन्थाल, किसान, मुण्डा, करुवा, झाँगड, पाहानलगायतका आदिवासीको परापूर्वकालदेखि बसोबास रहँदै आएको छ । यद्यपि कुन जाति आदिवासी हो भन्ने विषयमा अनुसन्धान भएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !