८ बैशाख २०८१, शनिबार

ज्वाला संग्रौलाको बिहे नै किर्ते, सामाजिक अभियन्ता शब्दकै बेइज्जत


ज्वाला संग्रौला र हिमाल उपाध्याय

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउने ज्वाला संग्रौला बिहे नै किर्ते भएको देखिएपछि सामाजिक अभियन्ता शब्दकै बेइज्जत भएको छ । ज्वाला संग्रौला दम्पतीको सरकारी कागजपत्र कीर्ते भेटिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको सरकारी कागजात किर्ते गरेको देखिएपछि घटनाक्रमले नयाँ रुप लिएको छ ।

आफ्नी साथी भनिएकी खुश्बु घिमिरेलाई सामाजिक सञ्जालमा मनपरी लेखी समूह मिलेर गौशाला चौकीमा कुटपिट गरेपछि संग्रौला प्रहरी हिरासतमा पुगेकी थिइन् । प्रहरी परिसर काठमाडौंका अनुसार हिरासतमा राखेर अनुसन्धानका क्रममा संग्रौला दम्पतीको सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको हो ।

हिरासतमा राखेर खनतलासी गर्दै जाँदा संग्रौलाबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज भेटिएको थियो । ती कागजपत्रलाई प्रमाणीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फर्जी भेटिएको पाइएको जनाइएको छ ।

झापाकी संग्रौला र अछामका उपाध्यायको कागजात भिडाउने क्रममा पाँचथरको कागजात किर्ते पुष्टि भएको हो । प्रहरीले मंगलसेन अछामबाट समेत उनीसँग सम्बन्धित कागजात झिकाएको छ ।

संग्रौलाका पति उपाध्यायले चाहिँ नाता प्रमाणीकरणको पत्र कीर्ते गरिएको भेटिएको जनाइएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार अछामको मंगलसेन नगरपालिकाबाट उपाध्यायको नाता प्रमाणीकरणको कुनै पत्र जारी नभएको देखिएको छ । यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर काठमाडौंका अनुसार हाल संग्रौलासँग पाँचथरको एक गाउँपालिकाबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र रहेको छ । जुन ४ असार २०७४ मा जारी भएको जन्मदर्तामा गाउँ विकास समिति उल्लेख छ ।

गाविस खारेज भएर गाउँपालिका भइसकेको अवस्थामा शंका लागेर गाउँपालिकालाई पत्र पठाउँदा संग्रौलाको जन्मदर्तामा हस्ताक्षर भएका सचिवले पनि त्यसबेला गाउँपालिकामा काम गरेको नदेखिएको अनुसन्धानमा खुलेको जनाइएको छ ।

आफूमाथि रंगभेदी अभिव्यक्ति दिएपछि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका असई मणिकान्त झाले पनि उनीविरुद्ध जाहेरी दिएपछि अहिले उनीमाथि अनुसन्धानका क्रममा कीर्ते गरेका कागजातहरु फेला परेको जनाइएको छ । यसबीच काठमाडौं प्रहरीले ज्वालालाई सरकारी कागजात किर्ते गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा पेश गर्ने तयारी गरेको छ ।

साथै अभद्र व्यवहारको कसूरमा कानुनमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ भने जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान रहेको छ ।

जापानमा बसेर सामाजिक सञ्जालमार्फत उग्र स्टाटस लेख्दै चर्चामा आएकी संग्रौला नेपाल आएर आफूलाई अभियन्ताका नाममा चिनाउँदै आएकी थिइन् । अभियन्ता बन्दै चर्का भाषण र गतिविधि गर्दै आएकी संग्रौलाको प्रहरी हिरासतमा लामै समय बित्ने देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !