२५ बैशाख २०८१, मंगलबार

सम्झनामा राजा वीरेन्द्र : दरवार हत्याकाण्डकाे २० वर्ष पूरा


दरवार हत्याकाण्ड

काठमाडौं। दरबार हत्याकाण्ड नेपालको ऐतिहासिक रहस्यमय घटना हो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश हुने गरी भएको उक्त हत्याकाण्ड आज २० वर्ष पूरा हुँदा पनि यो घटना रहस्यमय नै रहेको छ ।

२०५८ जेठ १९ गते नारायणहिटी राजदरवारभित्र राजा वीरेन्द्रको सपरिवारसहित १० जनाको रहस्यमय हत्या भएको थियो । यही हत्याकाण्डले नै गणतन्त्रको विउ उम्रेको भन्नेहरु पनि धेरै छन् । जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रुपमा लिने गरिन्छ ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र राजकुमार निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह लगायतको हत्या भएको थियो ।

दरवार हत्याकाण्डपछि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार युवराज दीपेन्द्रलाई दोषी ठहर गरेका थियो।

उक्त समितिले यूवराज दीपेन्द्र शाहले सबैलाई गोली चलाएर हत्या गरी आफूलाई पनि गोली हानेर आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेपनि यसलाई धेरैले विश्वास गरेका छैनन् र घटनाको पूर्ण छानबिन पनि हुन सकेको छैन । त्यसैले यस घटनालाई अहिले पनि रहस्यमय हत्याकाण्ड नै मानिरहेका छन्।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालेसमेत यो घटनालाई ग्राण्ड डिजाइनको संज्ञा दिएका थिए। तर डिजाइनर को हुन्? भन्ने कुरा रहस्यमै सीमित भएको छ।

तत्कालीन सभामुख तारानाथ रानाभाटले उच्चस्तरीय छानबिन प्रतिवेदन सार्वजानिक गरेका थिए । उक्त घटनामा युवराज दीपेन्द्रलाई दोषी ठहरेपनि धेरै नेपालीहरु रहस्यमय घटना नै भनिरहेका छन् । तत्कालीन सभामुख रानाभाटले यो घटनामा तत्कालीन छानबिन समितिको प्रतिवेदनले जे कुरा निकाल्यो सोही कुरा पढेर आफूले सार्वजानिक गरेको बताउछन् ।

यो हत्याकाण्डले विश्वभरी नै सनसनी मच्चाएको थियो । यो घटना अहिलेसम्म पनि रहस्यको गर्वमा नै कायमै रहेको छ । जेठ १९ को त्यो कहालिलाग्दो घटनाले अहिले पनि हरेक नेपालीको मन झस्काउने गर्छ । हरेक शुक्रवार राजसंस्थाको पारिवारिक जमघट हुने गथ्र्यो।

उदार जनप्रिय र शान्ति प्रेमी राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र वीरविक्रम शाह राजा भए ।

तर उनले प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२/६३ मा दोस्रो जनआन्दोलन चर्काए । सशस्त्र युद्ध गरेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्र समाप्ति र गणतन्त्रको घोषणा भयो। ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

राजतन्त्रको समाप्ति भएर मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, राजनीतिक व्यवस्थामा चलेपनि राजा वीरेन्द्रलाई मनमा सजाएका धेरै नेपालीहरु छन् । त्यसैले जेठ १९ को कहालिलाग्दो दरबार हत्याको घटना नेपालीको मनबाट मेटिन सकेको छैन ।

दरवार हत्याकाण्ड

स्वर्गीय राजा वीरेन्द्र र उनको सपरिवारप्रति हार्दिक श्रद्धा सुमन !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !