७ जेष्ठ २०८१, सोमबार

मट्टितेल खन्याउँदा पनि आगो नलाग्ने घर अब नेपालमा


fireproof home

काठमाडौं, वैशाख १६ – अहिले आगलागी घटना निकै बढेका छन् । स्याउलाले छाएका घरमा आगलागी हुने सम्भावना बढी हुन्छ । आगलागीबाट धनजनको क्षति धेरै हुन थालेपछि नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान नास्टले आगो लगाउँदा पनि नलाग्ने प्रविधिको सफल प्रयोग गरिसकेको छ ।

यसलाई नास्टका वैज्ञानिकले अग्नि प्रतिरोधक प्रविधिको नाम दिएका छन् । ‘अब नागरिकले आफ्नो घरको छानोमा हामीले भने जस्तो गरेमा घरमा आगलागी हुँदैन’ नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर जीवराज पोखरेलले भन्नुभयो । तराईका बर्दिया, कैलाली, कञ्चनपुर, सिरहा, धनुषा, सप्तरी, झापाका जिल्लालाई लक्षित गरेर यो प्रविधि ल्याइएको हो। यो प्रविधिको यसअघि सफल प्रदर्शन सुनसरीबाट गरिएको छ । अब अर्को प्रदर्शन एक हप्तामा सप्तरीबाट गर्ने योजनामा नास्ट छ ।

यो प्रविधिको सुरुवात भारतमा भइसकेको छ । ‘भारतले भने अर्कै प्रविधिमार्फत आगो नलाग्ने बनाएको थियो, त्यो महँगो प्रविधि हो । हामीले ल्याएको यो प्रविधि सुलभ र सजिलो छ’ नास्टका उपकुलपति पोखरेलले भन्नुभयो ।
यसरी बन्छ आगो नलाग्ने घर

यो प्रविधि कच्ची घरका लागि लक्षित छ । होचा कच्ची घर, खरले छाएका र भान्सासँगै भएका कारण घरमा आगलागी हुने गरेका घटना छन् । यस्ता घटनाबाट जोगिन र क्षति हुन नदिन नास्टले यस्तो प्रविधि ल्याएको हो । खासगरी तराईतिरका होचा खरले छाएका घरमा यो प्रविधि अपनाउन सकिन्छ ।

अहिले नागरिक बसिरहेका घरमा यो प्रविधिको प्रयोग गर्न सकिन्छ । जसका लागि घरको छानो माथि आधा इन्ची मोटोमा माटाले लिप्नु पर्छ । त्यसरी लिपेको केही समयपछि माटो सुक्छ । यसरी सुकेको माटोमा माथिबाट प्लाष्टिकले छोप्नु पर्छ । यसरी छोप्ने प्लाष्टिकलाई सिलपोलिन भनिन्छ । टनेलमा तरकारी खेती गर्दा प्रायः यही प्लाष्टिकको प्रयोग गरिन्छ ।

यो प्लाष्टिक १५ वर्षसम्म केही टिकाउ हुने गर्छ । अन्य प्लाष्टिक राख्दा पनि हुन्छ तर त्यो प्लाष्टिक टिकाउ नहुने भएकाले यो प्लाष्टिक राख्दा राम्रो हुन्छ । प्लाष्टिक राख्नुको अर्थ छानोमा लगाएको माटो पानी पर्दा नबगाओस् भन्ने हो ।

यसरी छानामाथि माटोको लेप लगाएपछि त्यहाँ हावा पस्ने सम्भावना हुँदैन । अझ प्लाष्टिकले झन हावा छिर्न दिँदैन । आगो बल्नका लागि कन्भेक्सनको आवश्यक पर्छ । हावा नछिर्ने ठाउँमा कन्भेक्सन हुँदैन । र कन्भेक्सन नभएपछि त्यहाँ आगो लाग्दैन ।

अर्कोतर्फ हावा नछिर्ने भएपछि घरबाट धुवाँ बाहिर जान पाउँदैन । धुवाँ बाहिर जान नपाउँदा धुवाँले नै आगोलाई निभाउने नाष्टका उपकुलपति पोखरेलले बताउनुभयो । यति भएपछि घर भित्रबाट सल्केको आगो पनि लाग्दैन । र बाहिरबाट लगाएको आगो पनि लाग्दैन ।

यदि बाहिरबाट आगो लाग्यो भने सिलपोलिन प्लाष्टिक जलिसकेपछि माटो भेट्छ र माटोमा आगो नलाग्ने भएकाले घर सुरक्षित हुन्छ । यसरी यो प्रविधि अपनाउने हो भने घर आगलागी हुनबाट जोगिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !