१९ बैशाख २०८१, बुधबार

हुम्लामा संक्रमण, १६ को मृत्यु, रोग पहिचान भएन


वैशाख १४, २०७३- कपाल दुख्ने र ज्वरो आउने लक्षण देखिने ‘अज्ञात रोग’ बाट हुम्लामा दुई सातायता १६ जनाको मृत्यु भएको छ। मदाना, राया र स्याडा गाविसमा मृत्यु भएकाहरू ५० वर्षमाथिका छन्। रोडिकोट, सायाँ, बराइ, मेल्छाममा, कालिका मैलालगायत गाविसमा पनि रोग फैलिएको छ। कयौं बिरामी छन्।

स्याडा गाविसको वडा नम्बर ३ का हासु घकरी, ४ का जगते रोकाया र लालमती बुढा, ५ का भद्रवीर बुढा, भोटी बुढा, भ्याल्नी रोकाया र ढोली बुढाको मृत्यु भएको हो।

राया–२ का सर्वजित रावल, ४ का रिउली रावत, ५ का विष्णु रावल, ६ का हीरा रावल र शिरे रावल, ८ का जग रावल र चीनकली रावलको ज्यान गएको हो। मदाना गाविसमा २ को मृत्यु भएको छ। स्याडा गाउँबाट सदरमुकाम पुगेका सैपाल निमाविका शिक्षक रामप्रसाद भुसालले गाउँमा रोग फैलिए पनि बिरामीले बेलैमा औषधि उपचार नपाएकाले मृत्यु हुनेको संख्या बढिरहेको बताए। ‘गाउँमा बिरामी बढिरहेका छन्, औषधि पाइँदैन,’ उनले भने, ‘रोग फैलिएको खबर सदरमुकाममा पुगेपछि बल्ल जिल्ला अस्पातलबाट चिकित्सक टोली गाउँतिर लागेको छ।’

जिल्लाभर नै रुघाखोकीजस्तै टाउको दुख्ने र ज्वरो आउने रोग फैलिएको छ। ‘मेरी आमा बिरामी हुनुभयो, गाउँमा सिटामोलसमेत पाइँदैन,’ रोडिकोट गाविसको राहदेउ गाउँबाट सिमकोट पुगेका राजबहादुर ऐडीले भने, ‘जिल्लाको दक्षिणी भेगका रोडिकोट, सायाँ, बराइ, मेल्छाममा समेत रोग फैलिएको छ।’

जिल्लाको पश्चिम दक्षिणमा रहेका कालिका मैला गाविसमा पनि रोग फैलिएको स्थानीयले बताएका छन्। संक्रमण फैलिएको गाविस पुग्न सदरमुकामबाट चार/पाँच दिन पैदल हिँड्नुपर्छ। प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर अनिलकुमार गुप्ताको टोली गएको छ। जिल्ला स्वास्थ्य कार्यालयले सबै हेल्थपोस्टमा औषधि गइसकेको बताए पनि स्थानीयले नपाएको गुनासो गरे ।

जिल्ला जनस्वास्थ्य निमित्त प्रमुख अमरदीप देवले ती क्षेत्रमा मौसमी रोग फैलिएको दाबी गरे। ‘चिकित्सक र प्राविधिक टोली त्यता गएको छ,’ उनले भने, ‘औषधि पनि पुगिसकेको छ।’स्याडामा उमेर ढल्केका मानिसको मृत्यु भए पनि रोग पहिचान नभएको प्रजिअ कृष्ण घिमिरेले बताए।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयले हुम्लाकै डाक्टरसहित केही औषधि पठाइदिने र रोग यकिन भए थप औषधि उपलब्ध गराउने जनाएको उनले बताए ।

लक्षण

  • कपाल दुख्ने र ज्वरो आउने
  • ज्यान गुमाउनेमा ५० वर्षभन्दा माथिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !