दुल्लु । बाढीपहिराले घर खेतबारी बगाएपछि साविकको सात्तला–६ का दलित परिवारलाई सुकिपिप्ली जङ्गलमा बास बसालियो । घना जङ्गलमा जङ्गली जनावरको उत्तिकै डरत्रास थियो । यहाँका २१ घर दलित परिवारले डरत्रासमै ३६ वर्ष बिताए ।
त्यतिबेलाका दुःख दिन सम्झिँदै देवबहादुर नेपाली भन्नुहुन्छ, “राति सुत्न सकिँदैन थियो । जताततै जङ्गली जनावरले कतिखेर आक्रमण गर्छ कि भन्ने चिन्ता थियो । बालबच्चालाई सुताएर जाग्राम बस्नु पथ्र्यो । दिनमा सुत्यौँ । राति काममा खटिनुपथ्र्याे । बस्तीमा पानीको पनि उस्तै समस्या थियो । घना जङ्गल भएकाले एक्लै पानी ल्याउन जान सकिँदैन थियो । समूह बनाएर आवाज निकाल्दै दुई घण्टा पैदल हिँडेर चिनेखोलाबाट पानी ल्याउनुपथ्र्यौ”, उहाँले भन्नुभयो ।
“बस्तीको तलतिरबाट मध्यपहाडी राजमार्ग र सुकिपिप्ली बस्तीको बीच बस्तीबाट रामघाट सिगासैन सडक गएपछि सुकिपिप्ली बस्ती केन्द्रबिन्दु बनेको छ’’, उहाँले भन्नुभयो । खुलाचौर भएकाले सुकिपिप्ली बस्ती सडक सञ्जालमा जोडिएपछि बस्तीका बासिन्दा सुविस्ता हुने आशा पलाए पनि त्यहाँभन्दा बढी निराशा छाएको बमबहादुर नेपालीले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामी गरीबलाई पहिला जङ्गली जनावरले खाला भनेर सात्तलाका ठालु भलादमीले जङ्गलमा बास बसाले । सडक सञ्जालसँग यो बस्ती जोडिएपछि सबै मेरा बाबु बाजेको भनेर जग्गा नाप्न दिएन । अहिलेसम्म हामी सुकुम्बासी नै छौँ ।”
बाढीपहिराले घर खेतबारी बगाएपछि घरबारविहीन बनेका दलित बस्ती सुकिपिप्ली बस्दै आएको ३६ वर्ष बित्यो । छत्तीस वर्षसम्म दलित परिवारले लालपुर्जा पाएका छैनन् । विसं २०४० मा आएको बाढीपहिराले घरबारी बगाएपछि उहाँ सुकुम्बासी बन्नु भएको हो । तत्कालीन साविक सात्तला गाविसको–६ हाल आठबिस नगरपालिका–१ सुकिपिप्ली बस्तीमा भोगचलन गर्दै आएको जमीनमा विवाद भएपछि लालपुर्जा नपाएका हुन् ।
बाढीपहिराले घर, खेतबारी सबै बगाइदिएपछि दलित बस्तीलाई गाउँकै स्थानीय बुद्धिजीवी र ठालु भलाद्मीले सुकिपिप्लीमा बस्ती बसालेको ७८ वर्षीय देव नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “अब त लालपुर्जा नदेखेर मर्ने भइयो ।” एक्काइस घरधुरी दलित बस्तीका कसैसँग पनि लालपुर्जा छैन । भूमिसुधार लागू भएयता जग्गा नापी भए पनि केही स्थानीयवासीले हाम्रा बाबु बाजेको भैँसी राख्ने चौर हो भनेर विवाद गरेपछि लालपुर्जा पाएनौँ । लक्ष्मी उमाविलाई एक कित्ता जग्गा नाप उपलब्ध गराएको समयमा दलित बस्तीको नाममा पनि एक कित्ता जग्गा नापिएको पछि विवाद भएपछि नापीका कर्मचारीले दिएनन् बलबहादुर नेपाली जानकारी दिनुभयो ।
अहिले बनेको सुकुम्बासी आयोगले लालपुर्जा दिन्छ भनेको सुनेका छौँ । लालपुर्जा देख्छौ कि भनेर आशा पलाएको छ । “जङ्गलको बीच स्थानमा रहेको चौरमा कोही बस्ने नभएपछि हामीलाई चौर बस्न दिए, अहिले सडकसँग बस्ती जोडिएपछि हाम्रो भनेर दाबी गर्छ । लालपुर्जा ल्याउन नापी कार्यालय जाँदा विवाद परेको मिलाएर आउनुहोस् भनियो, विवाद गर्नेले मानेनन् बलवीरले दुखेसो पोख्नुभयो ।”
लालपुर्जा नभएको ३६ वर्ष पुगिसक्दा पनि आफूहरुलाई कसैले सहयोग नगरेको दलित परिवारको दुखेसो छ । “राजनीतिक दलका नेताले चुनाव हुनेबेला हामीलाई भोट दिनुहोला”, बलवीर भन्नुहुन्छ । लालपुर्जाका लागि हामी पहल गर्छौं भन्छन् । जितेर गएपछि कोही सुनुवाइ नै गर्दैनन् । विसं २०४० बाट यता धेरै सांसद भए । चुनावका आश्वासन दिन्छन् जितेर गएपछि चासो राख्दैनन् । अहिलेसम्म भएका सबै चुनावमा आफूहरुको लालपुर्जा पाउँ भन्ने माग राखिरहे पनि नेताबाट सुनुवाइ नभएको सुकिपिप्लीवासीको भनाइ छ ।
लालपुर्जा बनाइदिने आश्वासन २०६४ र २०७० सालको निर्वाचनमा पनि भोट फकाउन लालपुर्जा बनाइदिने आश्वासन दिइएको नेपाली परिवारको भनाइ छ । “चुनाव जितिसकेपछि अनुहार नै देख्न पाइएन । नेता मात्र बदलिए, तर हाम्रा दुःख बदलिएनन्”, बलवीर भन्नुहुन्छ । सुकिपिप्ली चौरलाई, एयरपोर्ट क्याम्पस निर्माणका लागि राम्रो मानिएकाले दलित बस्तीलाई नदिएको स्थानीय बुद्धिजीवीको भनाइ छ ।
दलित परिवार भने झण्डै चार दशक भोगचलन गरिसकेकाले कुनै पनि हालतमा बस्ती नउठाउने सो बस्तीका अगुवाको भनाइ छ । सुकिपिप्ली बस्ती कर्णाली राजमार्गबाट सात किलोमिटर टाढा छ भने मध्यपहाडी राजमार्ग र रामघाट सिगासैन सडकसँग जोडिएको छ । आठबिस नगरपालिकाको सुकिपिप्ली बस्तीका मात्र होइन, दैलेखको क्षेत्र–१ नारायण नगरपालिकाको ६५ घरधुरी, रातीमाटेका ३५ घरधुरी नारायण नगरपालिका–८ ढकानेका २२ घरधुरीका बासिन्दा लालपुर्जाविहीन बनेका छन् ।