६ जेष्ठ २०८१, आइतबार

डढेलोले सामुदायिक वनजति सखाप


पाल्पा, ४ वैशाख । जिल्लाका सामुदायिक वनमा डढेलो लाग्नेक्रम नरोकिएपछि मानवीयसाथै भौतिक क्षति बढेको छ ।

चैत महिनामा मात्र आगलागीबाट दुई जनाले ज्यान गुमाएका छन् । पछिल्लो आगलागीमा परी एउटा जर्सी गाई, ११ गोठ र एउटा घर जलेर क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ज्यान जानेमा चापपानी गाविस-५ बस्ने ५३ वर्षीया भगवती तिमिल्सेना र फेक गाविस-५२ वर्षीय बलबहादुर रायमाझी छन् । बारीमा काँडा जलाउँदा हावाहुरीले अनियन्त्रित भएको आगोको लप्कोमा परी तिमिल्सेना र रायमाझी दुवैको उपचाररार्थ तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको थियो ।

डढेलोले जिल्लाका ७१ सामुदायिक वन क्षेत्रका ससाना वन्यजन्तु र बोटबिरुवा जलेर नष्ट भएका छन् । भैरवस्थान गाविस-३ का प्रेमबहादुर थापाले खाएको चुरोट ठुटाबाट फैलिएको डढेलोबाट वन र उनकै घरगोठ नष्ट भएको छ । वन अधिकृत यमलाल पोखरेलले थापालई वन ऐनबमोजिम कारबाही गरिने बताए । आगोसँग लापरबाही गर्नेलाई वन ऐन २०४९मा संजायस्वरुप एक वर्ष कैद वा रु १० हजार जरिवाना अथवा दुवै संजाय हुनसक्छ ।

खडेरी बढेको छ । सुक्खा जमिन र जंगलमा आगोको सानो झिल्कोले पातपतिङ्गर भेटे सल्किन्छ र फैलिन्छ । यसरी नै आगो फैलिँदा जिल्लाका अधिकांश सामुदायिक वनमा डढेलो लागेको हो । जिल्ला वन कार्यालयका अनुसार वैशाखको पहिलो हप्तासम्म तीन हजार २३८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनको डढेलोले ठूलो क्षति पुर्याएको छ ।
एक ठाउँको डढेलो नियन्त्रणमा गरिसक्दा अर्को ठाउँमा फैकिसकेको हुन्छ । यसले आगलागी निन्त्रणमा आउन नसकेको हो । आगलागीमा मानवीय त्रुटी नै प्रमुख कारण रहेको छ । आगोले ससाना वन्यजन्तु र बहुमूल्य जडीबुटी नष्ट पारेको छ । यससँगै वातावरणीय असन्तुलन बढेको छ । जताततै डढेलोे फैलिएपछि वायुमण्डल धुवाँले ढाकिँदा श्वासप्रश्वासमासमेत समस्या भएको छ ।

तानसेन-१३ स्थित लिपिन्देवी सामुदायिक वन, वनदेवी सामुदायिक वन, बन्दीपोखरा गाविसस्थित बाझा सामुदायिक वन, तिनलाकुरी बाक्लो काफल, नाक्थुङ सामुदायिक वन, भरलेगैरा गैरा सामुदायिक वन, भैरवस्थानस्थित पोखलडाँडा सामुदायिक वन र महजीर सल्लेरी वनमा डढेलो फैलिएको छ । स्थानीयवासी, प्रहरी र सेनाको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । अर्को दिन कहाँबाट सुरु हुन्छ भन्ने चिन्ताले स्थानीय ढुक्क भने हुन सकेका छैनन् । डढेलोका कारण पर्यावरणीय नराम्ररी प्रभावित बनेको छ । वनमा रहेका सर्प, खरायो, स्याल, मुसा तथा चरा जलेर नष्ट भएका छन् ।

तानसेनस्थित इलाका वन कार्यालय अन्तर्गत सामुदायिक वनले तीन हजार २१६ हेक्टर क्षेत्रफलमध्य १५० हेक्टर वन डढेलोले सखाप पारेको छ । मुख्यगरी तानसेन इलाकाअन्तर्गतका सामुदायिक वनमा डढेलो लागेको छ ।

अधिकृत पोखरेलका अनुसार ससाना किरा, फटयाङ्ग्रा र गुँडमा रहेका चराचुरुङ्गी जलेर नष्ट भए ।
डढेलोले साना बिरुवा हुर्कन दिँदैन । जीवजन्तु तथा चरा बासस्थान नै गुम्न थालेपछि विस्थापित भएका छन् । डढेलोले वनक्षेत्र उजाड बनाएको छ ।
फोक्सिङकोट गाविसको रानीवास सामुदायिक वन, दोभान गाविस, भुवनपोखरी, रुप्से गाविस लगायतमा समेत डढेलो सल्किएको छ । डढेलोका कारण वनजङ्गलमा चरिचरन क्षेत्र नासिएको छ । पशुपक्षीलाई आहारा खोज्न पनि समस्या रहेको स्थानीयवासी बताउँछन् ।

यसैगरी ताहु गाविस-२ स्थित मत्याहा सामुदायिक वनमा डढेलो फैलिँदा तीन घरगोठ जलेका छन् । अहिले भने रातामाटा, खुलखुल सामुदायिक वनमा फैलिएको आगो प्रहरी, सेना र स्थानीय युवाको अगुवाइमा नियन्त्रणमा लिन सफल भएको वन अधिकृत झमनारायण सापकोटाले बताए ।

सामुदायिक वनमा फैलिएको डढेलो नियन्त्रण भए पनि पर्यावरणीय रुपमा वातावरणलाई ठूलो असर परेको हुन्छ । ५०/६० हेक्टर वन क्षेत्र डढेलोको असर परेको अधिकृत ज्योति कोइरालाको भनाइ छ ।

जिल्ला वन कार्यालयका प्रमुख ददीराम कँडेलका अनुसार जिल्लामा डढेलो बढेपछि स्थानीय सञ्चारमाध्यबाट आगो नियन्त्रणसम्बन्धी प्रचारप्रसार कार्यक्रमलाई अभियानका साथ अघि ल्याइएको छ । डढेलो नियन्त्रणका लागि गोष्ठी सञ्चालन गरिएका छन् । हालसम्म समुदाय, प्रहरी र सेनाको संयुक्त प्रयासले डढेलो नियन्त्रणमा आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !