१४ बैशाख २०८१, शुक्रबार

बर्षमान पुन ‘अनन्त’ : सैन्य ईन्चार्जदेखि उर्जा मन्त्रीसम्म


barsaman pun

पृष्ठभूमि र जन्म

वि. सं. २०२८ साल जेठ १८ गते बुवा ईर्खराम पुन र आमा तिर्थमाली पुनको कोखबाट वर्षमान पुन ‘अनन्त’को जन्म रोल्पाकै, माडीचौर (स्थानीय मगर भाषामा माण्डिबाङ भनिने) गाउँ रोल्पा नगरपालिकाको वडा नं. ७ मा भएको हो । आठ सन्तान (पाँच दाजु भाई तीन दिदी बहिनी) मध्ये दोस्रो सन्तान अर्थात माहिलो छोरा हुन् अनन्त ।

राजनीतिक जीवनमा सहयात्री भएर आएकी ओनसरी घर्ती ‘उषा’ अनन्तको जीवन साथी बनिन् । जनयुद्ध सुरु हुनुको केहीं महिना अगाडि ११ भदौ २०५२ मा अनन्त र उषाको जनवादी विवाह भयो, जंकोटमा । निवर्तमान सभामुख ओनसरी अहिले प्रतिनिधिसभा सदस्यमा चुनिएकी छिन् । अनन्तका छोरी शिला कक्षा १२ र छोरा उत्सव कक्षा ९ मा पढिरहेका छन् । बुवा आमा अझै कृषिमा सक्रिय छन् । उनको साहिलो भाईको निधन भयो । बाँकी दाजुभाई र दिदी–बहिनीहरु राजनीति, व्यवसाय तथा कृषिमा सक्रिय छन् । नेकपा माओवादी केन्द्रबाट केपी ओली नेतृत्वको सरकारमा माओवादीको तर्फबाट उर्जा मन्त्री बनेका छन् । पूर्व गृहमन्त्री समेत भइसकेका पुन उर्जा मन्त्री बनेका हुन् ।

शिक्षा

२०४४ मा अनन्तले एलएलसी पास गरे । सामाजिक अवस्था र राजनीतिप्रति सचेत भईसकेका अनन्तले राजनीतिक सामाजिक कार्यकर्ता बनेर समाजमा रहेका उत्पीडन, दमन, शोसनको अन्त्यको अभियानमा सरिक हुने संकल्प थिए, र रोजे कानुन विषय । उनी २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस, दाङमा भर्ना भए ।

पढाईमा तिक्ष्ण अनन्त २०४८ मा क्याम्पस फस्ट हुँदै आईएल उत्तिर्ण गरे । र, राजनीतिमा पूर्णकालीन बने । पूर्णकालीन राजनीतिसँगै २०४९ उनले नेपाल ल क्याम्पसमा विएलमा भर्ना भए । नियमित क्लास लिन नसके पनि उनले विएलको अध्ययन पूरा गरे । परिक्षा दिए, थेसिस पनि बुझाए, तर जनयुद्ध सुरु भएकोले पूर्णता दिन सकेनन् । उनको औपचारिक शिक्षा विएल अध्ययनसम्मको रह्यो ।

राजनैतिक यात्रा

आईएल पढ्दै गर्दा २०४७ मा अनन्तले पार्टी सदस्यता लिईसकेको थिए । २०४८ मा नेकपा (एकता केन्द्र)को तत्कालीन ९ नं. क्षेत्रको संस्थापक एरिया सेक्रेटरी बने, जतिबेला उनी २० वर्षे जवान थिए । अनन्तसहित भीमबहादुर बुढा, नन्दबहादुर विक, देवीबहादुर पुन र मानबहादुर केसी त्यो एरियाको संस्थापक सदस्य थिए । भीमबहादु, नन्दबहादुर र देवीबहादुर जनयुद्धको क्रममा सहिद भए । केसी अहिले जिल्ला समन्वय समितिका सदस्य छन् ।

२०४९ मा पार्टीको पहिलो रोल्पा जिल्ला सम्मेलन भयो । पाँच सदस्यमा दुईजना थप्ने क्रममा अनन्त जिल्ला समिति सदस्य बने । त्यो रोल्पाको पहिलो निर्वाचित कमिटि थियो । दुईवर्षपछि २०५१ मा पार्टीको दोस्रो जिल्ला सम्मेलन भयो, त्यसपछि बनेको तीन सदस्यीय कार्यालय सदस्यमा अनन्त परे । जोखबहादुर महरा, सन्तोष बुढा र अनन्तको कार्यालय बन्यो ।

२०४८ तिर महरा र वर्मन बुढा सांसद थिए । झक्कु सुबेदी जिल्ला सभापति थिए । उपराष्ट्रपति पासाङ, जोखबहादुर महरा, कुलप्रसाद केसीलगायतले स्थायी शिक्षकको जागिर छाडिसकेका थिएनन् । त्यसबेला पूर्ण रुपमा अनन्त नै राजनीतिमा सक्रिय थिए, जनमोर्चाको सचिवको रुपमा ।

जनयुद्धको सुरुवातभएको केहीं महिनामै अनन्त २०५३ मा माओवादीको रोल्पा जिल्ला सेक्रेटरी भए । लगतै रोल्पा र प्यूठान जिल्लाको संयुक्त जिल्ला कमिटि बन्यो, त्यसको पनि सेक्रेटरी बने उनी । २६ वर्षमा लाग्दै गर्दा २०५५ मा चौथो विस्तारित बैठकबाट अनन्त माओवादीको केन्द्रीय सदस्य बने । र, उनको भूमिका इन्चार्जसीपमा रुपान्तरण हुन थाल्यो । त्यो केन्द्रीय समितिमा उमेरले सबैभन्दा कान्छो अनन्त नै थिए । शक्ति बस्नेत, नेत्रविक्रम चन्द विप्लव, हितमान शाक्य, मणी थापा, चक्रपाणी खनाल, रविन्द्र श्रेष्ठ त्यसै विस्तारित बैठकबाट एकसाथ केन्द्रीय समितिमा बढुवा भएका थिए ।

त्यो एउटा त्यस्तो परिघटना थियो, एक साथ सात जना युवा केन्द्रीय समितिमा पुगे र त्यसले माओवादी आन्दोलनलाई निर्णायक मोड दियो । युवाहरुलाई नेतृत्वमा पुग्ने बाटो खुल्यो । २०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट अनन्त वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित भए । २०५९ मा भारतको गोवामा बसेको बैठकबाट उनी पूर्ण पोलिट्व्यूरो सदस्य बने ।

२०६२/२०६३ को शान्तिप्रक्रिया लगतै माओवादीमा शक्तिशाली १३ सदस्यीय सचिवालय बन्यो । उनी त्यसमा सदस्य बने । त्यसपछि माओवादी पार्टीमा बन्ने सचिवालय, हेड्क्वाटरमा अनन्त निरन्तर सदस्य छन् । एकीकृत माओवादीको हेटौडा महाधिवेशनपछि विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि उनी सचिवमा निर्वाचित भए । माओवादी केन्द्रको कार्यालय सदस्य रहेका अनन्त प्रदेश नं. ५ को ईन्चार्ज समेत हुन् ।
माओवादी जनयुद्धमा अनन्तको नेतृत्वदायी भूमिका अरु नेताको भन्दा भिन्न छ । एक साथ राजनीतिक र सैन्य नेतृत्व गर्ने अनन्त प्रचण्डपछिका एकमात्र नेता हुन् । प्रचण्ड पार्टीको अध्यक्ष र जनमुक्ति सेनाका सुप्रिम कमाण्डर थिए । उनीपछि कमाण्ड ईन्चार्ज र डेपुटी कमाण्डर भएर सैन्य ईन्चार्ज हुने अनन्तमात्रै थिए ।

रोल्पा प्यूठानको ईन्चार्ज, रुकुम सल्यानको ईन्चार्ज र जाजरकोटको ईन्चार्ज भएपछि २०५५ देखि ५९ जेठसम्म अनन्त पश्चिम कमाण्डको सैन्य हेड्क्वाटरको जिम्मा लिए । घर्तिगाउँ, घोराही व्यारेक, डोल्पाको दुनै, अछामको मंगलसेन, जाजरकोटको लह, रुकुमको महतलगायतमा माओवादीले गरेको ठूला कारबाहीहरुमा त्यसक्रममा अनन्त की कमिसार बने कि कमाण्डर ।

पश्चिममा रहँदा माओवादीको सैन्य संरचना बलियो बनाएका अनन्तलाई २०५९ मा पार्टीले पूर्वी नेपालमा खटायो । काठमाडौंदेखि पूर्वीभागलाई समेटेर बनाईएको पूर्वी कमाण्डको ईन्चार्ज मोहन वैद्य ‘किरण’ थिए । त्यसको सेकेण्डम्यान थिए, अनन्त जनमुक्ति सेनाको डिभिजन कमाण्डरसमेत बनेर । पूर्वी कमाण्डको सैन्य कमाण्डर र सैन्य हेड्क्वाटरको ईन्चार्ज बने उनी । माओवादीले त्यहीं बेला हो भोजपुर सदरमुकाम, बन्दीपुरको हाईवेमा लडेको । काठमाडौंमा भएको थानकोट, दधीकोटदेखि साँखुसम्मको कारबाहीहरुको योजनाकार अनन्तनै थिए । सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पनौतीलगायतका आक्रमणमा उनी आफै सहभागी थिए ।

२०६२ को चुनाबाङ बैठकपछि अनन्त जनमुक्ति सेनाको डेपुटी कमाण्डर बने । सँगसँगै काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लालाई समावेश गरेर बनाईएको विशेष कमाण्डको राजनीतिक ईन्चार्ज बने । उनी एकसाथ सैन्य कमाण्डर र राजनीतिक ईन्चार्ज बने । त्यसबेलामा पश्चिम कमाण्डको ईन्चार्ज पोष्टबहादुर बोगटी ‘दिवाकर’ र पश्चिम कमाण्डको ईन्चार्ज रामबहादुर थापा ‘बादल’ थिए ।

रोल्पामा जनयुद्धको आधार तयार गर्न नेतृत्वदायी भूमिका खेलेका अनन्तले दशवर्षपछि विशेष कमाण्डको ईन्चार्ज बनेर २०६२/६३ को जनआन्दोलनको आधार तयार गरे । सैन्य र राजनीतिक सन्तुलन मिलाउँदै काम गर्ने क्रममा उनले तत्कालीन सात दलका नेतासँग समन्वय गर्दै जनआन्दोलन सफल बनाउन काभ्रेबाट मात्रै ९१ हजार ६०० जना मानिस काठमाडौं पठाए । त्यसैक्रममा सिन्धुपाल्चोकको चौतारा, पनौती, थानकोट, झुरझुरेजस्ता सैन्य कारबाहीहरु पनि बढाईराखे । ती कारबाहीले जनआन्दोलनको आधार तयार मात्र गरेन सफल बनाउन भूमिका खेल्यो ।

सरकारको जिम्मेवारी

अनन्त २०६४ को संविधानसभा निर्वाचनमा ललितपुर १ बाट विजयी बने । त्यसक्रममा उनले शान्तिप्रक्रियासम्बन्धी धेरै महत्वपूर्ण काम सम्पन्न गरे । २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा उनी नेतृत्वको सरकारमा अनन्तलाई गृहमन्त्रीको रुपमा प्रस्ताव गरियो । ‘गृह मन्त्रालय आएपछि त्यसको जिम्मेवारी लिने गरी’ उनलाई शान्ति तथा पुनःनिर्माण मन्त्री बनाईयो । गृहमन्त्रालय आयो, तर उनलाई गहृमन्त्री बनाइएन । उनले दुई महिनापछि शान्ति मन्त्रालय पनि छोडिदिए ।

२०६८ भदौ ५ गते डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा अनन्त अर्थमन्त्री बने । उनी अर्थमन्त्री बन्नु धेरैका लागि आश्चर्यको विषय बनेको थियो । सबैको आलोचना र आशंकलाई मत्थर पार्दै उनले अर्थमन्त्रालय सफलतापूर्वक हाँके, १८ महिना ।

२०७० को संविधानसभा निर्वाचन अनन्त पुनः पूर्व फर्किए, निर्वाचन लड्ने गरी । तर, मोरङ ९ मा कांग्रेस उम्मेदवारसँग पराजित भए । संविधानसभामा नरहे तापनि संविधान निर्माणसम्बन्धी पार्टीका तर्फबाट थुप्रै महत्वपूर्ण काम सम्पन्न गरेका अनन्त २०७४ को निर्वाचनमा रोल्पाबाट ४२ हजार ८४ मतका साथ कांग्रेस उम्मेदवार अमरसिंह पुनभन्दा २१ हजार सात सय ४७ मत अन्तरले विजयी बने ।

अनन्त केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बन्ने चर्चा थियो । पार्टीका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ उपप्रधानसहित कुनै महत्वपूर्ण मन्त्रालय लिने र अनन्त गृहमन्त्री हुने गरी माओवादीले तयारी गरे पनि प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि बादल गृहमन्त्री बने । ओलीले २०७४ चैत २ गते तेस्रो पटक मन्त्री परिषद्को विस्तार गर्दा महत्वपूर्ण मानिएको उर्जा मन्त्रालयका जिम्मेवारी अनन्तले पाएका छन् । अर्थमन्त्री हुँदा सफल मन्त्रीको छवि बनाएका अनन्तले उर्जा मन्त्रालयको जिम्मेवारी पनि सफलतापूर्वक सम्पन्न गर्ने धेरैले अपेक्षा लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !