७ बैशाख २०८१, शुक्रबार

टेलिकमले ल्यायो अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित ‘विन्टर अफर’


नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले भोलि पुस २८ गतेदेखि लागु हुनेगरी विन्टर अफर ल्याएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर ल्याएको हो ।

टेलिकमले ल्याएको विन्टर अफरअन्तर्गत माेबाइल र एफटीटीएच सेवातर्फ विभिन्न प्याक ल्याइएकाे छ । कम्पनीले माेबाइल प्रयाेगकर्ताका लागि सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिएको छ । यसमा प्रिपेड मोबाइलका ग्राहकलाई रु. १९९ देखि रु. ६९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डेटा, भ्वाइस र एसएमएका विभिन्न प्याकहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

विन्टर अफर अन्तर्गत रु. ६९९ मा २८ दिनका लागि कुल २८ जीबी डेटा (दैनिक १ जीबी), दैनिक १०० मिनेट कुराकानी गर्ने र दैनिक १०० ओटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध रहेको छ । यसैगरी रु. ४९९ मा २८ दिनका लागि कुल १९,६०० एमबी डेटा (दैनिक ७०० एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ ।

त्यस्तै रु. ३४९ मा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा (दैनिक ५०० एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० ओटै एसएमएस पठाउन सकिने सुविधा उपलब्ध रहेको छ ।

रु. १९९ मा २८ दिनका लागि कुल ४२०० एमबी डेटा (दैनिक १५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ । यस अफर अन्तर्गत रु. १९९ देखि रु. ६९९ सम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरु सबै नेटवर्कका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

स्टे कनेक्टेड अफर अन्तर्गत यसअघि उपलब्ध प्याकलाई ग्राहकको चाहना बमोजिम थप सुलभ दरमा ल्याइएको कम्पनीले उल्लेख गरेकाे छ । रु. १३० मा पाँच दिनका लागि २ जीबी सबै नेटवर्कमा र ४ जीबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्नेगरी ६ जीबी डेटा सुविधा र १५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको छ ।

रु. १०० र रु. २०० का स्टे कनेक्टेड अफरहरु निरन्तर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी एफटीटीएच सेवामा वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहित आईपीटिभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक थप सुलभ दरमा उपलब्ध गराइएको छ ।

अब ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः १६ हजार ६ सय ८२.६४ रुपैयाँमा र २१ हजार ५४१.५४ रुपैयाँ मात्र लाग्दछ । एफटीटीएच सेवामा उपलब्ध गराइएका यसअघिका अरु सबै प्याकलाई निरन्तरता दिइएको छ ।

पोस्टपेड कम्बो प्याक अन्तर्गत उपलब्ध भइरहेको रु. ३७३ मा ३० दिनसम्म प्रयोग गर्न सकिने अन नेट ८०० मिनेटको भ्वाइस प्याक र रु. ३७३ मै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डेटा प्याकमा रेन्टल समावेश गरी निरन्तरता प्रदान गरिएको छ ।

सजिलो अनलिमिटेड पोस्टपेड प्याक अन्तर्गत रु. ५९९, ७९९, ९९९ र १४९९ का असीमित सुविधाहरु प्रयोग गर्न सकिने प्याकहरु निरन्तर उपलब्ध छन् । यसमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २५० मिनेट कुराकानी गर्न वा दैनिक १ जीबी डेटा प्रयोग गर्न सकिने ३० दिनको रु. ५९९ को प्याक उपलब्ध छ ।

साथै, रु. ७९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित र अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने, अल नेट २०० वटा सन्देश पठाउन सकिने र प्रतिदिन १ जीबी डेटा ३० दिनसम्म चलाउन सकिन्छ ।

रु. ९९९ र रु. १४९९ का ३० दिन समयावधि भएका प्याकमार्फत कम्पनीभित्र र बाहिरको नेटवर्कमा पनि असिमित कुराकानी (अल नेट अनलिमिटेड) गर्न सकिनुका साथै क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यी बाहेक पहिलेदेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !