१२ बैशाख २०८१, बुधबार

इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुनसक्ने सेवा प्रदायकको चेतावनी


आईस्पान

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । आइस्पानले आज सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने धम्की दिएको हो ।

आइस्पानले विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नगरेकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।

आईस्पानले नेपाल विद्युत प्राधिकरणका कारण देशमा इन्टरनेट सेवा प्रवाह गर्ने वातावरण नभएको ठहर गरेको छ । देशका विभिन्न भागमा विद्युत प्राधिकरणले सेवा प्रदायकको तार छानीछानी काटेको भन्दै आईस्पानले इन्टरनेट सेवा प्रवाह गर्ने वातावरण बनाउन सरोकारवालासँग माग राखेको छ ।

विद्युत प्राधिकरणले भाडाकै निहुँमा इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर, अपरेसनल प्वाइन्टका साथै मेन लाइन, ट्रङ्क लाइन, क्रसिङ, फाइबर तारलगायत इन्टरनेट सेवा प्रवाहमा प्रयाेग हुने तार छानीछानी काटेकाे आईस्पानकाे आराेप छ ।

प्राधिकरणको भाडादरका कारण उपभोक्तालाई समेत असर पर्ने भएको भन्दै डिजिटल नेपालको मर्मविपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भई प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आइस्पानको आरोप छ ।

पत्रकार सम्मेलनमा आईस्पानका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताए ।

उनका अनुसार ​काठमाडाैं, विराटनगर, इनरुवा, काँकडभित्ता, गौरीगंज, पोखरा, धरान, खोटाङ, सर्खेत, कैलाली, बुटवल, टिकापुर, अत्तरिया, भैरहवा, डोटी, धनकुटा, दुहवी लगायतका ठाउँमा विद्युत प्राधिकरणले सेवा प्रदायककाे तार काटेकाे छ ।

विद्युत प्राधिकरणले दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय नगरी आफूखुसी पोलको भाडा ७०० प्रतिशत वृद्धि गरेको उनको भनाइ छ ।

यस्तो छ हेर्नुहोस् आईस्पानले निकालेको प्रेस विज्ञप्ति

आईस्पानले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !