११ पुस २०८१, बिहीबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो


मृत्यु-निधन

काठमाडौँ, जेठ २४ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका अनुसार डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका-३ का ५८ वर्षीय पुरुषको मृत्यु भएकाे ४ दिनपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई दमको रोगी भएकाले घरमै आइसोलेसनमा राखिएको थियो । होम आइसोलेसनमा भएकै बेला उनको जेठ २१ गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। मिर्गौलाकी बिरामी धनगढी ४ की उनको शुक्रबार मृत्यु भएको थियो । डायलासिसकै क्रममा अस्पतालमा मृत्युपछि उनमा कोरोना संक्रमणको आशंकामा पीसीआर जाँच गर्दा नतिजा पोजेटिभ देखिएको थियो ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३२३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । नेपालमा ७० जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३६५ पुगेको छ ।

आज कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोराना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो । यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना र सुर्खेतका १ जना गरी ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३२३५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३२३ संक्रमित

नेपालमा ३६५ जनाले जिते कोरोना, थप ३२ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !